काठमाडौँ — सुदूरपश्चिम क्रिकेटको प्रवर्धक सुवास शाही सोमबार सम्मानित भएका छन् । एलआरआई स्कुलले आफ्नो ३७ औं स्थापनाको अवसरमा शाहीसहित विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सोमबार राजधानीमा सम्मानित गरेको हो ।
एसपीए कपबाट सुदूरपश्चिममा क्रिकेटको रौनक ल्याएका शाहीले सन् २०१६ मा धनगढीमा अक्सनमार्फत सिटीबेस फ्रेन्चाइज क्रिकेटको नेपालमा पहिलो पटक सुरु गराएका थिए । त्यसपछि शाहीको नेतृत्वमा धनगढी क्रिकेट एकेडेमी सञ्चालनमा ल्याइएको थियो । शाहीलाई एलआरआईमा लक्ष्मण राजवंशी अवार्डसहित १ लाख रुपैयाँबाट सम्मानित गरिएको हो ।
यसै वर्षदेखि उनको संस्था गो ड्रिमर्समार्फत अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता गरिएको छ । सरकारले शाहीलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको बोर्ड अध्यक्षको जिम्मेवारी तोकेर धनगढीमा क्रिकेट रंगशाला निर्माणको कार्य अगाडि बढाएको छ ।
एलआरआईले दृष्टि फाउन्डेसन कैलालीकी कल्पना भट्टलाई २ लाख २५ हजारसहित सम्मान गरेको थियो । पद्योदय उमावि पूर्व प्रधानाध्यापक रमेशप्रसाद गौतम, मंगलोदय माविका पूर्व प्रधानाध्यापक लीलानाथ शर्मा, नारायणी इंग्लिस पब्लिक स्कुल चितवनका पूर्व प्रधानाध्यापक पूर्ण दवाडीलाई २५ हजारसहित विभिन्न शीर्षकमा सम्मान गरिएको थियो ।
एलआरआईकी निर्मला भट्टलाई ‘टिचर अफ द इयर’, आईटी इन्चार्ज रमेश सापकोटालाई ‘आउटस्ट्यान्डिङ पर्सनल’ अवार्डसहित जनही २५ हजार तथा सपोटिङ स्टाफ निर्मला तामाङलाई ‘आउटस्ट्यान्डिङ स्टाफ’ अवार्डसहित ११ हजारसहित सम्मान गरिएको थियो । स्कुलले आफ्ना क्रिकेट प्रशिक्षक अनुप श्रेष्ठ र चिनियाँ भाषामा उत्कृष्ट गरेका अंशुमा महर्जनलाई क्रमशः यशोधरा पन्त र यस्रेखा पन्त अवार्डसहित जनही २५ हजारबाट सम्मान गरिएको थियो ।
त्यस्तै ‘स्कुल टपर’ योगेशकुमार बोहरालाई १ लाखसहित ‘प्रिन्सिपल अवार्ड’ बाट सम्मानित गरिएको थियो । पर्यटनविद् कर्ण शाक्य, एलआरआईका संस्थापक शिवराज पन्त, निर्देशक देवकान्त जोशी र प्रधानाध्यापक बादल प्रधानलगायतले सम्मान प्रदान गरेका थिए ।
