काठमाडौँ — ठीक ८ दिनअघि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले पोखरामा भएको २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । तर आइतबार सुरु केपी ओली कप च्याम्पियनसिपको पहिलो खेलमै स्तब्ध भएको छ ।
एपीएफ एफसीले एन्फा कम्प्लेक्समा आइतबार उद्घाटन खेलमा ब्ल्याक बुल्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले ब्ल्याक बुल्सका दुई प्रहार बचाएर नायक बने ।
एपीएफले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फागुन १८ सम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नाममा आयोजित प्रतियोगिताको उद्घाटन गर्ने क्रममा रेफ्रीलाई बल हस्तान्तरण गर्दै तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सोमबार दुई खेल हुनेछ । पहिलो खेल बिहान ११.३० मा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच तथा दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ ।
