चर्च ब्वाइज बन्यो बागमती गोल्डकपको च्याम्पियन

फाल्गुन १२, २०८१

सुवास विडारी

Church Boys became champions of Bagmati Gold Cup

मकवानपुर — सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज क्लबले जितेको  छ । सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मच्छिन्द्र क्लबलाई १-० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।

चर्च ब्वाइजको उपाधि दिलाउन समीर तामाङ नायक बने । उनले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच का तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्रले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधि जितेको हो । मच्छिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मच्छिन्द्रका रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र  प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए ।

विधागत उत्कृष्ट सबैले जनही २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजना प्रतियोगिता भएको हो ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully