काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाल सुपर लिगको फ्रेन्चाइज टोली धनगढी एफसीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
धनगढी एफसीका प्रबर्द्धक सुवास शाहीले दीपेन्द्रलाई आफ्नो टोलीको ब्रान्ड एम्बासडरमा चयन गरेको जनाएका हुन् । एनएसएलको शनिबार भएको अक्सनमा दीपेन्द्र धनगढीको टेबलमा रहेका थिए ।
पहिलो सिजनमा धनगढीको ब्रान्ड एम्बासडर दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पदकधारी दीपक विष्ट र दोस्रो सिजनमा कन्टेन्ट क्रिएटर मिस पबी रहेका थिए । ‘दीपेन्द्रलाई धनगढी एफसीको एम्बासडरमा नियुक्त गर्न पाउदा हामी हर्षित छौं, उनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका छन्, सुदूरपश्चिम प्रदेशका लागि यो गर्वको विषय पनि हो,’ धनगढीका प्रवद्धक शाहीले टोलीको विज्ञप्तीमा भनेका छन् ।
दीपेन्द्रले नेपालबाट ६० एकदिवसीय अन्तर्राष्ट्रियमा ९ सय ४८ रन र ३८ विकेट तथा ७४ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार ७ सय २५ रन र ४९ विकेट लिइसकेका छन् । उनी यो दुवै संरचनामा शतक बनाउने थोरै नेपाली सुचिमा रहेका एक खेलाडी हुन् । दीपेन्द्रले सुदूरपश्चिमका खेल समर्थकलाई स्मरणीय बनाउन आफू लागिपर्ने जनाए ।
धनगढीका मार्की खेलाडीमा क्षितिजरत्न छुन्जु रहेका छन् । टोलीले हालै लेबनानका स्ट्राइकर अहमद हिजाजीलाई लेबनिज प्रिमियर लिगमा खेलिरहेको टोली बोउर्ज एफसीबाट ‘लोन’ मा आवद्ध गरिसकेको छ । हिजाजीले २०२३ को सिजन पनि धनगढीबाट खेल्दै ४ गोल गरि टोलीलाई फाइनलसम्म पुर्याएका थिए । धनगढी एनएसएलको पहिलो दुई सिजन नै उपविजेता रहँदै आएको थियो ।
