तेस्रो आर्चरी प्रतियोगिताको उपाधि संखुवासभाको ज्यवस्यारीलाई

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

The title of the third archery competition went to Jivasyari of Sankhuwasabha

संखुवासभा — संखुवासभाको खाँदबारीमा सम्पन्न तेस्रो आर्चरी प्रतियोगिताको उपाधि भोटखोलाको ज्यवस्यारी ङाप्ताक छिघुलुङ टिमले जितेको छ ।

खाँदबारी रंगशालामा आइतबार भएको फाइनल प्रतिस्पर्धामा ४९ सय ५० अंक ल्याउँदै ज्यवस्यारीले उपाधि जितेको हो । किमाथांका टिम ४६ सय ९० अंक ल्याएर उपविजेता बनेको छ ।

विजेता ज्यवस्यारीले १ लाख ६ हजार र उपविजेता किमाथांकाले ५६ हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा पिबु टिमका विकास भोटे म्यान अफ द म्याच घोषित भए ।

३० मिटर स्टान्डर्ड विधामा प्रतिस्पर्धा भएकामा प्रत्येक टिमका ६ खेलाडीले हरेक प्रतिस्पर्धामा २ पटक खेल्ने मौका पाएका थिए । त्यसैको अंकका आधारमा विजेता घोषणा गरिएको थियो । 

प्रतियोगितामा पिबु टिम तेस्रो भयो भने भोटखोला आर्चरी संघ चौथो भएको थियो ।

जिल्ला आर्चरी संघले २१५२ औं ग्याल्पो ल्होसारको अवसरमा खेल आयोजना गरेको हो । विशेष गरी भोटखोला गाउँपालिकामा बसोबास गर्ने भोटे जातिको परम्परागत खेल आर्चरी भएकाले संस्कृति संरक्षणका लागि आयोजना गरिएको अध्यक्ष पासाङ भोटेले बताए । प्रतियागितामा ९ टिम सहभागी थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully