बुटवलमा सञ्चालित दोस्रो मेयर कप फुटबलमा स्कलर्स होम र कालिका विजयी

फाल्गुन ११, २०८१

सन्जु पौडेल

Scholars Home and Kalika won the 2nd Mayor's Cup football held in Butwal

तिलोत्तमा — बुटवलमा सञ्चालित दोस्रो मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्र तर्फको उपाधि स्कलर्स होम माधयमिक विद्यालयले उचालेको छ ।

न्यू होराईजन बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै स्कलर्स होमले उपाधि चुमेको हो । उपाधीसँगै उसले १ लाख रुपैयाँसहित शिल्ड, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यू होराइजन माधयमिक विद्यालयलले ५० हजार नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको हो ।

त्यस्तै, छात्रा तर्फको उपाधि कालिका मानव ज्ञान विद्यालयले हात पारेको छ । गार्गी एकेडेमीलाई ३–१ गोल अन्तरले हराउँदै कालिकाले खेल जितेको हो । उसले पुरस्कार स्वरुप ५० हजार रूपैयाँ पायो । उपविजेता गार्गी एकेडेमीले नगद ३० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता टिमलाई पुरस्कार प्रदान गर्दै उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवलले खेलको माध्यमबाट विकास गर्ने लक्ष्य लिइरहेको बताए । उनले स्थानीय ८ वटा खेल मैदानलाई विभिन्न खेलका लागि प्रयोग गर्दै, बुटवलका बालबालीका, युवालाई खेलमा अघि बढाउने बताए । 'अध्ययन जरुरी छ, तर बालबालीकाको इच्छा अनुसार खेलमा रुचि छ भने, त्यसबाट पनि उनीहरुको विकास सम्भव छ भन्ने सन्देश बुटवलले दिन चाहेको छ,' उनले भने, 'खेलाडीको मनोबल बढाउन, विद्यालय स्तरका खेलबाट प्रशिक्षण दिन हामीले बजेट विनियोजन गरेका छौं ।'

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully