रोल्पामा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु

फाल्गुन ११, २०८१

काशीराम डाँगी

National Men's Volleyball Tournament begins in Rolpa

रोल्पा — शनिबारदेखि रोल्पाको लिबाङमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्थानीय सन स्टार युवा क्लबले जिल्लामा ठूलो पुरस्कार राशीको राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको उद्‌घाटन गर्दै पूर्व उपप्रधान, अर्थ एवं सञ्चार मन्त्री कृष्णबहादुर महराले राजधानीबाहिर ठूलो राशीको पुरस्कारसहित खेल प्रतियोगिता आयोजना हुनु राम्रो पक्ष भएको बताए । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय कुलप्रसाद केसी र जोखबहादुर महराकोसमेत उद्‌घाटनमा उपस्थिति थियो।

फागुन १० देखि १४ गतेसम्म रोल्पाको सदरमुकाम लिबाङमा प्रतियोगिता जारी रहने छ । राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा क्लबले ९ लाखभन्दा बढी पुरस्कार राशीको घोषणा गरेको छ । 

National Men's Volleyball Tournament begins in Rolpa

क्लबले आयोजना गरेको यो दोस्रो संस्करणको खेलकुद प्रतियोगिता हो । क्लबले लिबाङमा करिब १० वर्षअघि पहिलो संस्करणको प्रतियोगिता सम्पन्न गरेको थियो । क्लबको १३ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

विजेता टिमले ५ लाख रुपैयाँसहित सन–स्टार ट्रफी जित्नेछ । उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ जित्नेछन् । सान्त्वना हुने टिमलाई ५० हजार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डरलगायत विधागत उत्कृष्टलाई पनि नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष पूर्ण केसीले बताए ।

National Men's Volleyball Tournament begins in Rolpa

पहिलो दिन आयोजक टिम र मधेस प्रदेशकोबीच तथा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच खेल सम्पन्न भएको छ।

रोल्पामा आयोजना भएको कुनै पनि खेलकुद प्रतियोगिताको यो सबैभन्दा ठूलो पुरस्कार राशीको प्रतियोगिता हो ।  प्रतियोतिगामा आयोजकसहित ७ टिमले भाग लिएका छन् । सात प्रदेशबाट १–१ टिमसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबलाई भाग लिन आग्रह गरिएकोमा सूदुरपश्चिम, बागमती र गण्डकी प्रदेशका टिम र एपीएफको टिमले भाग लिएको छैन।

National Men's Volleyball Tournament begins in Rolpa

महिलातर्फ ८ टिम भिड्ने

यसैगरी जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता पनि आयोजना भएकोमा  स्थानीय तहबाट ८ टिम प्रतियोगितामा भिड्नेछन् । स्थानीय तहको सिफारिसमा सहभागी महिला टोलीबीच प्रतियोगिता हुनेछ ।

National Men's Volleyball Tournament begins in Rolpa

रूपाका १० मध्ये सुकीदह र रुन्टीगढी बाहेकका गाउँपालिकाले महिला टिम पठाएका हुन् । विजेताले ५५ हजार, दोस्रोले ३५ हजार, तेस्रोले १५ हजार र चौंथो हुनेले १० हजार जित्नेछन् । प्रतियोगितामा करिब ४० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully