१० किलोमिटर दौडमा मिङ्मार र सन्तोषी च्याम्पियन

५ किलोमिटरतर्फ शिव रायमाझी र पूजा पछाई विजेता

फाल्गुन ११, २०८१

घनश्याम गौतम

Mingmar and Santoshi champion in 10 km race

बुटवल — साइन रेसुंगा डेभलपमेन्ट बैंकको १० मिलोमिटर ‘रन टु शाइन’ राष्ट्रिय दौड प्रतियोगितामा खुल्लातर्फको उपाधिमा पुरुषतर्फ मिङ्मार सिङ्गी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठ च्याम्पियन बनेका छन् । दुवै खेलाडीले नगद एक–एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा आइतबार ५ लाख राशीको दौड प्रतियोगिता आयोजना गरेको थियो ।

बुटवलमा सम्पन्न प्रतियोगितामा सन्तोषीले निर्धारित दूरी ३६ मिनेट २१ सेकेन्डमा पूरा गरिन् । मिङ्मारले ३१ मिनेट ५३ सेकेन्डमा पूरा गरेका थिए । पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं बनिन् । पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडुवाल पाँचौं भए । दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौंथोले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

पाँच किलोमिटर दौडमा शिव रायमाझी र पुजा पछाई विजेता बनेका छन् । पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथों बने । महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौं बने । यस्तै, भेट्रान्समा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुवेदी दोस्रो बनेका छन् । पुरुषतर्फ युवबहादुर राना प्रथम, गोबिन्द थापा दोस्रो, केशरसिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथों भएका छन् । दुवै विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।

तीन विधामा १ हजार ६ सय जनाले नाम दर्ता गराएकामा ६ सय जनाले प्रतिस्पर्धा गरेका थिए । बैंकको प्रधान कार्यालय कालिकानगरमा ब्याण्डबाजाको संगीतसहित प्रतियोगिता उद्घाटन गरिएको थियो । 

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रीय कार्यालयमा आएर सकिएको थियो । 

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स एशोसिएसनले स्वीकृति प्रदान गरेका थिए । विजयी धावकहरुलाई प्रतियोगिताका सद्भावना दूत अन्तर्राष्ट्रिय ओलम्पिक विजेता धावक बैकुण्ठ मानन्धर, प्रदेश सांसद एवं पूर्वमन्त्री विष्णु पन्थी, बैंकका अध्यक्ष थानेश्वर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पुरस्कार वितरण गरेका छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully