काठमाडौँ — नेपाली फुटबल प्रशिक्षक तथा पूर्व खेलाडी हरिओम श्रेष्ठको आइतबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो । उनी ५४ वर्षका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार निधनको अघिल्लो दिनमात्रै उनी गंगालाल अस्पतालबाट उपचारपछि घर फर्केका थिए थिए । नेपाली घरेलु फुटबलमा खेलाडी र प्रशिक्षकका रूपमा उनको ठूलो योगदान रहेको छ ।
नेपालका उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका श्रेष्ठले आफ्नो खेल जीवनको सुरुआत स्टार क्लबबाट गरेका थिए । उनले आरसीटी, एनआरटी र मनाङ मर्स्याङ्दीबाट क्लब फुटबल खेले ।
यस्तै उनले महिलाको विभिन्न उमेर समूहको राष्ट्रिय फुटबल टिमको प्रशिक्षकका रूपमा पनि लामो समय बिताए । पछिल्लो समय उनी एनआरटीका प्रशिक्षक थिए ।
उनकै नेतृत्वमा क्लबले हालै बुढासुब्बा गोल्डकप खेलेको थियो । प्रतियोगिताका क्रममा धरानमा रहँदा उनलाई हृदयघात भएपछि काठमाडौं ल्याइएको थियो ।
