काठमाडौँ — भक्तपुर म्युनिसिपल क्रिकेट एसोसिएसन (बीएमसीए) ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताका लागि आयोजित भक्तपुर जिल्ला छनोटको उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार फाइनलमा बीएमसीएले भक्तपुर क्रिकेट सेन्टरलाई ७ विकेटले पराजित गर्यो ।
बीएमसीएले १ सय १६ रनको लक्ष्य २०. २ ओभरमै पूरा गर्यो । गौरव पौडेलले सर्वाधिक ४९ रन बनाए । अविजित उनले ५३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । विशाल देवकोटाले पनि अविजित २६ रन बनाएर चौथो विकेटमा ७८ रनको साझेदारी गरे । सौरभ साखकर्मी १७ रनमा आउट भए । सेन्टरका लोकेश पालले २ र त्रिसन चौलागाईंले १ विकेट लिए ।
यसअघि टस हारेको भक्तपुर क्रिकेट सेन्टर ३५.२ ओभरमा १ सय १५ रनमै अलआउट भयो । दिपेन श्रेष्ठले सर्वाधिक ३४, अभिषेक बस्नेतले १८ र समर्पण अधिकारीले १७ रन बनाए । बीएमसीएबाट सागर घिमिरेले ३ विकेट लिए । प्लेयर अफ द फाइनल सागरले ६ ओभरमा ४ मेडन ओभर गर्दै ४ रन मात्र खर्चिए । सक्रियप्रताप कार्कीले २ तथा धिरेन्द्रकुमार बस्नेत, मनीष श्रेष्ठ, शशांक दवाडी र सार्थक न्यौपानेले समान १ विकेट लिए ।
उत्कृष्ट खेलाडी सेन्टरका विनोद तामाङ, उत्कृष्ट बलर हिमालय स्पोर्ट्स म्यानेजमेन्टका सुमन हुमागाईं र उत्कृष्ट ब्याटर जनप्रेमी स्पोर्ट्सका आकाशकुमार शाह घोषित भए । १२ टिम सहभागी प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल क्रिकेट संघका सचिव पारस खड्का, भक्तपुर क्रिकेट संघका अध्यक्ष मनीषराज पाण्डेलगायतले पुरस्कार वितरण गरे ।
