काठमाडौँ — केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण भोलि आइतबारदेखि सुरु हुनेछ । पहिलो दिनको खेलमा एपीएफ फुटबल क्लब र आहारारा पोखरा गोल्डकप विजेता ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो दिन त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब तथा आयोजक टिम केपी ओली एफसी र एनआटीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो तीन दिनको खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुनेछ ।
दुई दिनको विश्रामपछि खेल पुनः सुरु हुँदा दशरथ रंगशालामा बाँकी खेल खेलाइने छ । प्रतियोगितामा ६ ‘ए’ डिभिजन टोली, दुई विदेशी र एक आयोजक गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिताका प्रतिस्पर्धी अन्य टोलीमा संकटा, मछिन्द्र क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेड छन् । विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी जित्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उदीयमान खेलाडीलाई ५० हजारले पुरस्कृत गर्ने आयोजक संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक क्षितिज थेबेले जानकारी गराए । हरेक प्लेयर अफ द म्याचले १५ हजार पाउने छ ।
थेबेका अनुसार प्रतियोगिता दौरान इटालियन महान गोलरक्षक जियानलुइजी बुफोन पनि उपस्थित हुनेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर एचडी म्याक्सले गर्नेछ भने टिकेटिङ पार्टनरमा खल्ती रहेको छ ।
