धरान १०–के रनको उपाधिमा केन्याली धावकको वर्चश्व

फाल्गुन १०, २०८१

अर्जुन सुवेदी

Kenyan runner dominates Dharan 10-K run title

सुनसरी — १३ औं धरान १०–के रनको उपाधिमा केन्याली धावकहरुले वर्चश्व जमाएका छन् । धरानमा आज बिहान सम्पन्न १० किलोमिटर रनमा पुरुष र महिला दुवै विधातर्फ केन्याका धावक च्याम्पियन बनेका छन् ।

पुरुषतर्फ ह्विल्सन चेउलियोट र महिलातर्फ शरन जेरोटिस प्रथम च्याम्पियन बनेका हुन् । ह्विल्सनले निर्धारित १० किलोमिटर दूरी ३० मिनेट ५५ सेकेन्डमा पूरा गरेको । महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्दै विजेता बनेका हुन् ।

चार हजार धावक धाविका सहभागी दौडमा पुरुषतर्फ केन्याकै जुलियस मौरिकी ३१ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए । उनी गत महिना सम्पन्न हिसान इटहरी रन च्याम्पियन समेत हुन् । दुर्गाबहादुर बुद्धले ३२ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।

महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुदा दिपा परियारले ३९ मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन् । प्रथम, दोस्रो र तेस्रो विजेताहरूले क्रमशः नगद ६० हजार, ४० हजार र ३० रुपैयाँ पुरस्कार पाए । उनीहरुलाई धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज राईले पुरस्कार प्रदान गरे । 

अन्डर १६ उमेर समूहमा पुरुषतर्फ ईश्वर राई प्रथम, सुवासकुमार वि.के. दोस्रो र बिकी यादव तेस्रो भएभने महिलातर्फ जुही राई प्रथम, कुसुल राई दोस्रो र पूजा महत तेस्रो भइन् । भेट्रान पुरुषतर्फ विजय कुमार राई प्रथम, राकेश महर्जन दोस्रो र रामचन्द्र श्रेष्ठ तेस्रो भए । महिलातर्फ जमुना लिम्बू प्रथम, सपना राई दोस्रो र सम्झना राई तेस्रो भए ।

सुपर भेट्रान पुरुषतर्फ विजयकृष्ण तामाङ प्रथम, विजय सागर दनुवार दोस्रो र शिवकुमार राई तेस्रो भए । महिलातर्फ जमुना मोक्तान प्रथम, बिष्णुमाया याक्खा दोस्रो र मनसा राई तेस्रो भए । मिड भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम, सुवर्ण सुब्बा दोस्रो र नाम्पर लेप्चा तेस्रो भए । मिड भेट्रान महिलामा अनुदा तामाङ प्रथम, होमादेवी पुन दोस्रो र शान्ता वानेम तेस्रो भए । 

अर्जुन

Link copied successfully