विराटनगर — भद्रपुर ब्लेजर्सले शुक्रबार नेपाल पुलिस क्लबलाई पराजित गर्दै भद्रपुर झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल तय गरेको छ । मेची रंगशालामा भएको क्वाटरफाइनलमा भद्रपुरले पुलिसलाई २–१ ले हरायो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । पहिलो हाफको ४० औं मिनेटमा मिलन राईको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । ४५ औ मिनेटमा पुलिसका हेमन्त श्रेष्ठले गोललाइनबाटै बचाए । तर, दोस्रो हाफमा भद्रपुरले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई गोल गरेको थियो ।
७२ औं मिनेटमा मिलन राईले आशिष चापागाईंको पासमा गोल गरे । पहिलो गोल भएको दुई मिनेटपछि पुलिसका मानबहादुर परियारले फाउल गर्दा प्राप्त पेनाल्टीलाई मिलनले गोल गर्दै भद्रपुरलाई २–० को अग्रता दिलाए ।
पुलिसले दोस्रो हाफमा प्रशान्त कुँवरको गोलमार्फत खेलमा फर्कने कोसिस गर्यो । त्यसपछि थप गोल गर्न सकेन । प्लेयर अफ द म्याच मिलन राई भए । उनले २१ हजार रुपैयाँ र ट्रफी पाए । भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले पहिलो हाफ गोलरहित टुंगिएपछि रणनीति परिवर्तन गरी जित हात पार्न सफल भएको दाबी गरे । पुलिसका प्रशिक्षक सुमन सुवेदीले रक्षापंक्तिमा कमजोरी हुँदा हार बेहोर्नुपरेको स्वीकारे ।
शनिबार झापा ११ एफसी र चर्च ब्वाइज युनाइटेडबीच दोस्रो क्वाटरफाइनल हुनेछ ।
