सुनसरी — सगरमाथा युथ क्लब मोरङ र मछिन्द्र फुटबल क्लबे १५ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिलाई शनिबार प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानहरूले फाइनल आफूहरूले जित्ने दाबी गरे ।
यसअघि लगातार दुई पटक प्रतियोगिताको उपाधि जितिसकेको सगरमाथाका कप्तान अशोक खवासले फेरि उपाधि जित्ने दाबी गरे । ‘यो हाम्रो होम ग्राउन्ड पनि हो, दुई पटक हामीले जितेका छौं, यसपालि पनि उपाधि जित्नेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हामीलाई स्थानीय दर्शकको साथले उत्साह थप्ने हुँदा उच्च मनोबलसहित प्रदर्शन गर्ने र्छौं ।’
प्रशिक्षक युवेन गुरुङले पनि उपाधि जित्नेमा ढुक्क रहेको बताए । मछिन्द्र क्लब लगातार एकपछि अर्को प्रतियोगिता खेल्दा खेलाडीमा थकान भएको हुँदा त्यसको फाइदा उठाउने रणनीतिमा रहने प्रशिक्षक गुरुङले बताए । ‘इटहरी गोल्डकप हाम्रा लागि घरेलु प्रतियोगिता हो, आफ्नै मैदान र दर्शकको हौसलाले हामीलाई समर्थन हुन्छ,’ प्रशिक्षक गुरुङको भनाइ छ ।
पहिलो पटक प्रतियोगितामा भाग लिएको मछिन्द्र सगरमाथाको उपाधि यात्रामा ब्रेक लगाएर इतिहास रच्ने दाउमा छ । कप्तान विशाल श्रेष्ठले विपक्षी टिम राम्रो भए पनि उपाधि भने आफूहरूले जित्ने बताए । ‘सगरमाथाको टिम राम्रो छ, खेलाडीहरूले राम्रो खेलेका छन् । यसअघि दुई पटक जितिसकेको छ । तर हामीले उनीहरूको दुई खेल हेरेका छौं । त्यहीअनुसार रणनीति बनाएर खेल्दा उपाधि जित्नेमा ढुक्क छौं,’ कप्तान श्रेष्ठले भने ।
टिम म्यानेजर शिरीष श्रेष्ठले पहिलो सहभागितामै फाइनलमा पुगेको र उपाधि जित्नेमा विश्वस्त रहेको बताए । उनले पनि सगरमाथाका खेलाडीले राम्रो खेलेको तर फाइनलमा उपाधि भने आफ्नो टिमले नै जित्ने दाबी गरे । एन्फाले गोल्डकपहरू जुधाएकै कारण मोफसलका प्रतियोगितामा लगातार सहभागिता जनाउँदा खेलाडीहरू केही दबाबमा हुने उनले स्वीकारे । तर, दुई टिम रहेका कारण त्यसलाई व्यवस्थापन गरिएको उनले स्पष्ट पारे ।
सगरमाथा युथ क्लवले क्वाटरफाइनलमा एनआरटी र सेमिफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल तय गरेको हो । मछिन्दले क्वाटरफाइनलमा झापा फुटबल क्लब र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) लाई पराजित गर्दै उपाधि भिडन्त पक्का गर्यो । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल खेल इटहरी रंगशालामा दिउँसो हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।
