बुटवल — महाशिवरात्रि तथा २६२ औं सेना दिवसको उपलक्ष्यमा श्री नम्बर २२ बाहिनी अड्डा तथा तारादल गणद्वारा शनिबार आयोजित ‘रन फर फन’ अन्तर्गत १० किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ कृतिदल गणका अशोक सुनार प्रथम भएका छन् ।
शनिबार बिहान २२ नम्बर बाहिनीदेखि तिलोत्तमाको शंकरसम्म निर्धारित दूरी ३९ मिनेट १६ सेकेन्डमा पार गरेर सुनार प्रथम भएका हुन् । उक्त स्पर्धामा निर्धारित दूरी ३९ मिनेट २२ सेकेन्डमा पूरा गरेर गोरखदल गणका धीरज योगी दोस्रो भए । उक्त दूरी ४० मिनेटमा पार गरेर कालिभक्ति गणका नवीन परियारले तेस्रो स्थान प्राप्त गरे ।
महिलातर्फ निर्धारित दूरी ४६ मिनेट २२ सेकेन्डमा पार गरेर तारा दल गणकी शर्मीला खड्का प्रथम, ४७ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै कृतिदल गणकी रेखा घर्तीमगर दोस्रो र ४७ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गरेर गोरखदल गणकी सुनिता विकले तेस्रो भइन् ।
‘रन फर फन’ अन्तर्गत ५ किलोमिटर दौड छात्रतर्फ २३ मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पार गरेर बुटवलको शान्ति नमुना माविका राम गौडेल प्रथम भए । उजीरसिंह माविका सवीन सुनारले २४ मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र अक्सफोर्ड माविका देवबहादुर क्षेत्रीले उक्त दूरी २७ मिनेट १३ सेकेन्डमा पूरा गरेर तेस्रो भए । त्यस्तै, ५ किलोमिटर दौड छात्रातर्फ निर्धारित दूरी ३२ मिनेट ५७ सेकेन्डमा पार गरेर उजीरसिंह माविकी झरना परियार प्रथम, ३४ मिनेट २६ सेकेन्डमा पार गरेर सैनिक आवासीय माविकी अनुष्का आचार्य दोस्रो र ३६ मिनेटर ५४ सेकेन्डमा दूरी पार गर्दै उजीरसिंह माविकी रचना अर्याल तेस्रो भए ।
पाँच किलोमटिर वाकथनतर्फ नेपाली सेनाको २२ नम्बर बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्का प्रथम भएका थिए । वाकथनमा रुपन्देहीका सरकारी कार्यालय प्रमुख, सुरक्षा निकायमा प्रमुख, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि, सामाजिक कार्यकर्ता र निजी क्षेत्रका अगुवा सहभागी थिए । शिवरात्रि र सेना दिवस पारेर नागरिकसित सम्बन्ध सुधार्नका लागि ‘रन फर फन’ कार्यक्रम आयोजना गरिएको सहायक रथी खड्काले बताए । उनले दौडका विजयीलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
तारादल गणपति सुवर्ण खड्काले सुरक्षाकर्मी मात्र शारीरिक रुपमा तन्दुरस्त नरहेर आम नागरिक पनि आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने सन्देश दिन र नागरिकसित सेनाको सम्बन्ध विस्तारका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
