अनुपम घलान स्मृति यू-१६ फुटबलको उपाधि हेटौंडा-१५ लाई

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

Anupam Ghalan Smriti U-16 football title to Hetaunda-15

काठमाडौँ — अनुपम घलान स्मृति नगरस्तरीय यू-१६ फुटबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिका- १५ ले जितेको छ ।

शनिबार भएको उपाधि भिडन्तमा १८ नम्बरलाई सडनडेथमा निराश बनाउँदै १५ ले उपाधि जितेको हो । विजेताले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेताले ७० हजार रुपैयाँ हात पार्‍यो ।

निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत निर्णय लिइएको हो । फाइनल खेलको म्यान अफ द म्याच हेटौंडा-१५ का गोलरक्षक विकेश थिङ भए । उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक समेत भए । उत्कृष्ट डिफेन्डर १५ का नवीन लो, मिडफिल्डर १८ का साजन लोप्चन, फरवार्ड १५ का रेहान घलान र उत्कृष्ट प्रशिक्षक हेटौंडा-१५ का उज्वल वाइबा घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी १८ का अभिराज थापा मगर भए । उनले १० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उपमेयर राजेश बानियाँ, नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानलगायतले पुरस्कार वितरण गरेका थिए ।

नगर खेलकुद विकास समिति हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरको प्रायोजनमा प्रतियोगिता सञ्चालन भएको हो । पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगितामा हेटौंडाका १९ वडामध्ये १० वटा वडाको सहभागिता थियो । 

हेटौंडा-१२ का अनुपम घलानको गत असोजमा मकवानपुरको सिस्नेरीमा पहिरोमा परेर निधन भएको थियो । एन्फा एकेडेमीका किशोर खेलाडी घलानको निधनपछि उनको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।

कान्तिपुर

Link copied successfully