बुटवल ओपनमा प्रदीप लगातार च्याम्पियन

फाल्गुन ९, २०८१

दीपेन्द्र बडुवाल

Pradeep consecutive champion in Butwal Open

बुटवल — पोखराका प्रदीप खड्का रुपन्देहीको बुटवलमा सञ्चालन भएको तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकल स्पर्धामा शुक्रबार च्याम्पियन बनेका छन् । बुटवल ओपनको सुरुवातदेखि सहभागी हुँदै आएका खड्का लगातार तेस्रोपटक च्याम्पियन बनेका हुन् ।

यहाँस्थित लन टेनिस भिलेजमा शुक्रबार दिउँसो भएको फाइनलमा बुटवलका रितिक रानालाई खड्काले ट्राईबेकरमा पराजित गरेका थिए । पहिलो सेटमा पराजित भएका खड्काले उत्कृष्ट पुनरागमन प्रदर्शन गर्दै उपाधि जितेका हुन् । गतवर्ष सञ्चालन भएको पुरुष एकल स्पर्धामा पनि खड्काले रितिकलाई नै पराजित गरेका थिए । गत वर्षको तुलनामा सुरुवातदेखि सुधारिएको खेल प्रदर्शन गरेका रितिकले दोस्रो सेटमा कायम गरेको अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्‍यो । प्रदर्शनमा सुधार देखिएको भन्दै खड्काले खेल सम्पन्न भएपछि रितिकको प्रशंसा गरेका थिए ।

‘रितिक र म चिरपरिचित प्रतिद्वन्द्वी हौं,’ खडकाले सञ्चारकर्मीसिति भने, ‘यसपटक मैले उत्कृष्ट पुनरागमन गर्न सफल भएपछि रितिकले खेल गुमाए ।’ च्याम्पियन बनेपछि खडकाले उपाधिसँगै नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरे । आयोजक रुपन्देही लन टेनिस संघका अनुसार प्रतियोगिताको पहिले संस्करणमा प्रणव खनाल विजेता थिए । दोस्रो संस्करणमा खड्का च्याम्पियन बनेका थिए । त्यसपछि तेस्रो र चौथो संस्करणमा रितिकले बाजी मारेका थिए । त्यसपछिका तीनवटा संस्करणमा खडका च्याम्प्यिन बनेका हुन् । लगातार जीतपछि खडकाले बुटवललाई आफ्नो ‘दोस्रो घर’ बताउँदै यहाँका समर्थकको मायाले प्रदर्शनमा सघाउने गरेको बताए । 

फाइनलमा रितिकले ६–३ अंकसहित पहिलो सेटमा जित निकालेका थिए । दोस्रो सेट भने ७–६ ले प्रदिपले आफनो पक्षमा पारे । निर्णायक सेटमा प्रदिपले कम ब्याक गर्दै ६–१ को अंकले जित निकालेर च्याम्पियन बनेका थिए । यो आफ्नो खेल जीवनको १५ औं उपाधि भएको खड्काले बताए । ‘मेरो जीवनको पहिलो टाइटल बुटवल ओपनमै जितेको थिएँ,’ उनले भने, ‘१५ औं पटक पनि यहीँ च्याम्पियन हुन पाउँदा खुसी छु ।’ र्‍याकेट चेन्ज गर्दा शुक्रबार पहिलो सेटमा समस्या भएको उनले बताए । 

यहाँ शुक्रबार शुक्रबार बिहान भएको फाइनलमा ३५ वर्षभन्दा माथि पुरुष एकल तर्फको उपाधि जितेन्द्र परियारले चुमे । परियारले फाइनलमा सन्तोष खत्रीलाई ६–४, ६–१ को सेटमा पराजित गरेका थिए । ४५ वर्षभन्दा माथि एकलमा कमलबहादुर भण्डारीले देव क्षेत्रीलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुमेका थिए । यसअघि बुधबार भएको महिला एकल स्पर्धाको फाइनलमा काठमाडौंकी सुनीरा थापा भने अभिलाषा विष्टलाई पराजित गर्दै च्याम्पियन बनेकी थिइन् । 

फाइनल खेलपछि शुक्रबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, बाग्मती टेनिस संघका अध्यक्ष मनोजशम्शेर राणा, कास्की लन टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ, महासेनानी मछिन्द्र थापा, संघका संस्थापक अध्यक्ष अशोक गुरुङ, प्रतियोगिताका सुपरभाइजर राजन पौडेल र रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले प्रतियोगिता विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । पुरुष/महिला एकलको विजेताले नगद ६०/६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरियो । 

दीपेन्द्र

Link copied successfully