मकवानपुर — सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम चारको समिकरण पूरा भएको छ । बिहीबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा सर्लाहीको बागमती युवा क्लबलाई १–० गोलले हराएर मछिन्द्र सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो ।
साबिकको विजेता मछिन्द्रको जितमा खेलको ४३ औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टीमार्फत गोल गरे । बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको ४२ औं मिनेटमा गोललाइनमा हातले बल रोकेपछि रेफ्रीले पेनाल्टी दिएको थियो । त्यही मौका सदुपयोग गर्दै रेजिनले गोल गरेका थिए ।
म्यान अफ द म्याच मछिन्द्रकै शिशिर लेखी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै बागमती युवा क्वाटरफाइनल पुगेको थियो । मछिन्द्रलाई सिधै क्वाटरफाइनलमा स्थान दिइएको थियो । गत संस्करणमा एपीएफलाई पराजित गर्दै मछिन्द्रले उपाधिमा आफ्नो नाम लेखाएको थियो । पहिलो सेमिफाइनल शुक्रबार चर्च व्वाइजले संकटासँग प्रतिस्पर्धा गर्नेछ भने मछिन्द्रको भेट शनिबार थ्रीस्टार क्लबसँग हुनेछ ।
फाइनल फागुन १२ मा हुनेछ । च्याम्पियन टोलीले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ ।
