भरतपुरमा गोर्खाली रग्बी सेभेन्स, विजेताले २ लाख पाउने

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Gorkhali Rugby Sevens in Bharatpur, winner will get Rs 2 lakh

काठमाडौँ — गोर्खाली रग्बी क्लबले चितवन भरतपुरस्थित कृष्णपुर रंगशालामा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता गर्ने भएको छ । फागुन १६ र १७ मा हुने प्रतियोगितामा सात प्रदेश टोली, दुई विभागीय टोली नेपाली सेना र सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा आयोजक गोर्खाली रग्बी गरी १० टोलीको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यो नेपाली रग्बीमा राखिएको अहिलेसम्मको सर्वाधिक ठूलो पुरस्कार राशि भएको क्लबले जनाएको छ । उत्कृष्ट खेलाडीले भर्दना काउचरको तर्फबाट एक सेट इटालियन सुट प्राप्त गर्नेछन् ।

प्रतियोगिता आयोजनामा करिब २१ लाख बजेट खर्च हुने अनुमान छ । जसमा आयोजकले सहभागिता टोलीको एकतर्फी यातायात र होटल खर्च बेहोर्ने छ ।

राष्ट्रिय खेलकुद परिषद्, भरतपुर महानगरपालिका र बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहयोग गर्नेछ ।

गोर्खाली क्लबका अध्यक्ष तथा व्यवसायी रोहित कार्की अपुग रकमलाई आफैंले बेहोर्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष कार्कीले भने, ‘क्लबले विभिन्न उमेर समूहको प्रतियोगिताको विजेता बन्नुका साथै गत वर्ष फिप्टिन ए साइड रग्बीको राष्ट्रिय प्रतियोगितामा च्याम्पियन बन्यौं । अब हामी आयोजनामा सफल पारेर रग्बी विकासमा योगदान दिन चाहन्छौं ।’

हरेक टिमले ५ जनासम्म विदेशी खेलाडी राख्न पाउने नियम बनाइएको छ । क्लबका उपाध्यक्ष कृष्ण थापाले गोर्खाली रग्बीले मैदानमा सफलता हात पारेपछि अब प्रतियोगिता आयोजनामा केन्द्रित हुन लागेको बताए । उनले आगामी संस्करणमा विदेशी क्लबलाई समेत सहभागी गराउने योजना रहेको बताए ।

प्रतियोगिताको मेडिकल पार्टनरमा चितवन मेडिकल कलेज, ट्राभल पार्टनरमा होलिडे ट्रिप नेपाल, क्लोथिङ पार्टनरमा थ्रेड गार्मेन्ट इमाडोल, हस्पिटालिटी पार्टनरमा अन्कुरम एकेडेमी चितवन र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन छन् ।

सहयोगी संस्थामा एलआईसी कर्पोरेसन (नेपाल), राइट पाथ करियर काउन्सलिङ, एसिटी एजुकेसन एन्ड भिसा सर्भिसेज, एभिन्यु एजुकेसन कन्सल्टेन्सी र माइती रिसोर्ट कीर्तिपुर छन् ।

प्रतियोगिताबाट राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुर्खेतमा हुने १० औं राष्ट्रिय खेलकुदको तयारीमा समेत सहयोग पुग्ने अपेक्षा छ ।

कान्तिपुर

Link copied successfully