मकवानपुर — चर्च ब्वाइज क्लब सातौं बाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०८१ को फाइनलमा प्रवेश गरेको छ ।
मकवानपुरको पूर्वीक्षेत्रमा अवस्थित बाग्मती गाउँपालिका–४, झुरझुरे रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार सशस्त्र प्रहरीको (एपीएफ) विरुद्धको खेलमा उत्कृष्ट कम्ब्याक गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजको जितमा विदेशी खेलाडी अर्माण्ड नायक रहे । उनले आफ्नो टोली एक गोलले पछाडि परेको अवस्थामा लगातार दुई गोल गरेका थिए ।
खेलमा सुरुवातबाटै चर्च ब्वाइजले आफ्नो पकड कायम गरेपनि ३५ औं मिनेटमा गोल व्यहोर्न पुगेको थियो । एपीएफका बुद्धिमान राईले गोल गर्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएका थिए । उनको अग्रतालाई एपीएफले लामो समय जोगाए पनि हार टार्न भने सकेन । चर्च ब्वाइजका विदेशी खेलाडी अर्माण्डले खेलेको ७३ र ७६ औं मिनेटमा लगातार दुई गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । विजयी टोलीको तर्फबाट सुमित श्रेष्ठले ८५ औं मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटको खेल सकिन २ मिनेट बाँकी रहेको अवस्थामा एपीएफका हरि कार्कीले गोल गरे पनि एपीएफ पराजित हुन पुग्यो ।
खेलको 'म्यान अफ दि म्याच' अर्माण्ड घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । जितपछि प्रतिक्रिया दिँदै अर्माण्डले आफ्नो पुरानो क्लबको विरुद्ध खेल्न निकै गाह्रो भएको प्रतिक्रया दिए ।
‘एपीएफ मेरो पुरानो क्लब हो । मलाई यस क्लबको बलियो र कमजोर पक्ष थाहा छ । एपीएफ हार मान्ने टोली होइन । तर हामीले आज जित्यौं ।’, उनले भने । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शनिबार थ्रीस्टार क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । विजेताले फागुन १२ गते उपाधिका लागि भिड्नेछन् ।
