नुवाकोट — भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।
नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स नियमका आधारमा पहिलो र दोस्रो स्थान प्राप्त गरेका छन् ।
अन्तिम चरणमा आशुतोषले नेपालका सीएम सुश्रुत दाहालसँग बराबरी खेले भने धिरेनले पुरुषोत्तम चौलागाईंमाथि जित दर्ता गर्दै आशुतोषसँग समान अंक बनाएका थिए ।
एफएम क्षितिज भण्डारीले साढे ५ अंक र उच्च ३० बुकोज्ल्स प्वाइन्टका आधारमा तेस्रो भए । सुश्रुत अन्तिम चरणको खेलमा जित पाउन नसक्दा उपाधि गुमाउन पुगे । उनले ५.५ अंक बनाएर २९.५ बुकोल्ज्ससहित चौथो स्थान हात पारे । भारतका विनायकसिं यादव २५ बुकोल्ज्स अंक प्राप्त गर्दै पाँचौं स्थानमा रहे । नेपालका पुरुषोत्तम सिलवाल, भारतका मोहितकुमार सोनी, एफएम रुपेश जैसवाल, सुशील चौधरी र बद्रीलाल नेपाली समान ५ अंक जोडेर पाँचौदेखि दसौं स्थान हात पारे ।
स्थानीयतर्फ नुवाकोटका प्रकाश जोशी विजेता भए । सक्सेस श्रेष्ठ दोस्रो भए । समान ४ अंकमा शंकरप्रसाद घिमिरे तेस्रो, शिव श्रेष्ठ चौथो र सुरज लामा पाँचौं स्थानमा रहन सफल भए । महिलातर्फ बिनिता कपाली प्रथम, सिन्दिरा जोशी दोस्रो र भारतका वैष्णवी प्रकाशले तेस्रो स्थान हासिल गरे ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ७४ खेलाडी सहभागी रहेको प्रतियोगितामा अनरेटेडतर्फ सुमित जोशी, नवीन वैद्य, अमितकुमार यादव क्रमशः शीर्ष तीन स्थानमा आएका छन् ।
सिनियर खेलाडीतर्फ नवीन तण्डुकार, मोहनसिं प्रधान, बसन्त श्रेष्ठ, रेटिङ १८ सयमुनि प्रेम खड्का, अर्मान सिद्दिकी, सुशील सुवेदी, रेटिङ १६ सयमुनि विनोद तिमल्सिना, साहिद हुसेन, राजकुमार राई शीर्ष तीन स्थानमा विजयी भए । युवा १८ वर्षमा महाज इकबाल, आभाषकुमार श्रेष्ठ, सात्विकमान तुलाधर तथा यू–१६ प्रखर त्रिपाठी, प्रविण केसी, शाश्वत श्रेष्ठ तीन स्थानमा विजयी भए । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले विजेता खेलाडीलाई २ लाख ३७ हजार पुरस्कार र ट्रफी प्रदान गरे ।
नुवाकोट जिल्ला चेस संघका अध्यक्ष प्रकाश जोशीको सभापतित्वमा भएको कार्यक्रममा विदुर नगरपालिका वडा १ का अध्यक्ष लेनिन रञ्जितले नुवाकोटमा बुद्धिचाल खेलको लामो इतिहास रहेको जानकारी गराए ।
