सावित्रा भण्डारी र रेखा पौडेलबीचको समन्वयमा पर्याप्त अभाव देखिएको छ, यो अभाव समाधान जति चाँडै हुनेछ, नेपाली महिला फुटबललाई त्यति राम्रो हुनेछ
काठमाडौँ — अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप रूपमा रहेको फोर नेसन्स कपमा बुधबार दोस्रो दिनको खेल टुंगिँदा एउटा डर हुनेछ, यत्तिकैमा फाइनल पुग्ने दुई टिमको समीकरण बन्न बेर छैन ।
त्यो भनेको लिग चरणको अन्तिम दिनको खेलअघि नै दुई टिम अगाडि बढ्ने छन् भने बाँकी दुई टिमको काम प्रतिष्ठाको खेल खेल्ने मात्रै हुनेछ । हुने यस्तै हो, किनभने कम्तीमा कागजमा म्यानमार र नेपाल बलियो छ । दशरथ रंगशालामा हुने खेलमा सबैभन्दा पहिले म्यानमारले किर्गिस्तानको सामना गर्नेछ ।
त्यसपछि ‘फ्लड लाइट्स’ मा नेपालले लेवनानविरुद्ध खेल्नेछ । आ–आफ्नो पहिलो खेल जितेपछि गोलअन्तरका आधारमा म्यानमार ३ अंकमा शीर्षस्थानमा छ । त्यसपछि ३ अंक लिएर नेपाल पछाडि छ । विना कुनै अंक किर्गिस्तान र लेवनान छन् । पहिलो दिन म्यानमारले लेवनानलाई ३–१ र नेपालले किर्गिस्तानलाई १–० ले हराएको थियो । धेरै हदसम्म दुवै खेलको कथा समान रह्यो, विजयी टिमको प्रचुर आक्रमण ।
अन्त्यमा ती आक्रमण साबित हुँदै गए दिशाहीन । त्यसैले म्यानमार र नेपाल दुवैले एउटै लक्ष्य राख्नेछन् । जितमात्र होइन, राम्रै अन्तरको जित खोज्नेछन् । साँच्चै नेपालले लेवनानविरुद्ध अपेक्षा गर्ने के त ? त्यो पनि किर्गिस्तानविरुद्ध अल्मलिएको प्रदर्शन पछि ? यसमा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको सजिलो उत्तर छ, ‘जित’ । एक शब्दको उनको यो उत्तरमा आत्मविश्वासभन्दा पनि हल्का ‘एरोगेन्ट’ लुकेको छ ।
यस्तो किनभन्दा प्रशिक्षक तामाङ र उनको नेतृत्वमा नेपाली टिमले आफूलाई प्रमाणित गर्न बाँकी नै छ । नेपाली फुटबलले अपेक्षा भने राख्नेछ, जतिबेला नेपालले साँच्चै फोर नेसन्स कप जित्नेछ । अन्त्यमा तिनै प्रशिक्षकले भन्नेछन्, ‘आखिरमा हामीले जित्यौं ।’ साँच्चै नै नेपाली फुटबललाई माया गर्ने सबैले लामो समयदेखि प्रतीक्षा गर्दै आएको यही एक उपलब्धिका लागि हो । नत्र त नेपाली महिला टिमसँग झुन्डिएर आउने विशेषता हो, ‘फाइनल त पुग्ने तर उपाधि जित्न नसक्ने ।’
सुध्रिने विश्वासमा लेवनान
प्रतियोगितामै सबैभन्दा तल्लो वरीयताको लेवनानले म्यानमारलाई पहिलो हाफमा गोलरहित बराबरीमै रोकेको थियो । त्यतिमात्र होइन, लेवनानले एक गोल फर्काएर सिद्ध गरेको छ, यसका खेलाडी खेल्नकै लागि मात्र नेपाल आएका होइनन् । अझ त्यो खेलमा लेवनानले सबै आफ्ना पहिलो रोजाइका खेलाडी उतारेको थिएन । खेल हुँदै गर्दा मात्र केही खेलाडी काठमाडौं आइपुगेका थिए । त्यसैले नेपालको सामना गर्दा उत्रने टिम फरक लेवनानी हुनेछन् ।
‘यो अझ मजबुत लेवनानी टिम हुनेछ र फरक रहनेछ । हामी पक्कै पनि युवा टिम हौं र धेरै परिवर्तनबाट गुज्रेका छौं । बलियो म्यानमारविरुद्धको खेल हामीले पक्कै पनि गुमायौं, तर यसमा हाम्रो दृष्टिकोणमा धेरै सकारात्मक पक्ष थिए । नेपालविरुद्ध हामी सक्दो राम्रो प्रदर्शनको प्रयासमा हुनेछौं । हाम्रा लागि नेपालविरुद्ध ठूलो संख्यामा समर्थक अगाडि खेल्नुको अर्थ धेरै हुनेछ,’ लेवनानी प्रशिक्षक वाएल घारजेडिनले भनेका छन् ।
नेपाली प्रशिक्षक तामाङसामु भने एउटा चुनौती हुनेछ, आफ्नो फुटबल ‘दर्शन’अनुसार खेलाडीलाई उतार्ने । उनकै शब्दमा नेपाली खेलाडीको तालमेल मिलेको छैन । उनीहरूको प्रदर्शन किर्गिस्तानविरुद्ध धेरै हदसम्म अल्मलिएको नै थियो । ‘लेवनानविरुद्धको खेल आइपुग्दा टिममा तालमेल मिल्नेछ,’ प्रशिक्षक तामाङ यत्तिको विश्वास भने राख्छन् । उनको सबैभन्दा ठूलो अस्त्र सावित्रा भण्डारी नै हुनेछ । उनीबाट यसपल्ट गोलको अपेक्षा धेरै नै हुनेछ ।
नेपाल उनको ५६ औं गोललाई पर्खिरहेको छ । यो संख्या अझ बढ्ने अपेक्षामा छ । सावित्रा किर्गिस्तानविरुद्ध दोस्रो हाफमा त छिरिन्, तर सटिक आक्रमण बुन्न नसक्दा असफल रहिन् । विशेषतः आक्रमणमा उनको र रेखा पौडेलबीचको समन्वयमा पर्याप्त अभाव देखिएको छ । यो अभावका समाधान जति चाँडै हुनेछ, नेपाली महिला फुटबललाई त्यति राम्रो हुनेछ । नेपालले अहिलेसम्म एकैपल्ट लेवनानको सामना गरेको छ । त्यो खेल धेरै अर्थमा सम्झनलायक रहेको थियो ।
सन् २०२४ को वाफ च्याम्पिनयसिपमा नेपालले लेवनानलाई सेमिफाइनलमा २–१ ले हराएको थियो । त्यो जित धेरै अर्थमा नेपालका लागि संघर्षपूर्ण नै रह्यो । एक गोलले पछाडि रहेको स्थिति उल्टाउन नेपाललाई गाह्रै भएको थियो । नेपाल पहिलो हाफमा पूजा रानाको आत्मघाती गोलले पछाडि परेको थियो । खेलको ७५ औं मिनेटमा सावित्राले बराबरी गोल फर्काइन् । त्यसपछि प्रीति राईले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरिन् । तबमात्र नेपालले राहत महसुस गरेको थियो ।
मृदुभाषी म्यानमार
सबैलाई के थाहा छ भने फोर नेसन्स कपमा सबैभन्दा बलियो टिम म्यानमार नै हो । आखिरमा पाँचपल्ट एसिया कप खेलिसकेको टिम हो, म्यानमार । म्यानमारका मुख्य प्रशिक्षक तेत्सुरो उकीले असाध्यै विनम्र भएर मुदृभाषी शब्दमा भनेका छन्, ‘लेवनानविरुद्धको खेलमा हामीलाई असाध्यै गाह्रो भयो । त्यसैले हामीलाई लाग्छ, यो टिममा अझै सुधार आवश्यक छ ।’
म्यानमार आफ्ना सबै पहिलो रोजाइका खेलाडी लिएर नेपाल आएको छ र सम्भवतः लय समात्ने प्रयासमा छ । प्रशिक्षक उकी आफ्नो टिमको उच्च वरीयतालाई धेरै ठूलो महत्त्व दिन चाहँदैनन् । उनी के मान्छन् भने किर्गिस्तानको सामना गर्दा त्यो खेल सजिलो हुन्न । नेपालविरुद्धको हारमा पनि किर्गिस्तानी प्रशिक्षक नेमतझान जाकिरोभ मान्छन्, समग्रमा टिमको प्रदर्शन राम्रो रह्यो ।
उनी भनेका थिए, ‘हाम्रो टिम नयाँ छ र हाम्रो लागि यो प्रतियोगिता अनुभव बटुल्न असाध्यै राम्रो अवसर बनेको छ । हामी अझ राम्रो खेल्ने प्रयासमा छौं ।’
