निस्ट कप अर्को साता

फाल्गुन ८, २०८१

कान्तिपुर संवाददाता

Nest Cup next week

काठमाडौँ — निस्ट स्कुलको आयोजनामा तेस्रो निस्ट कप खेलकुद फागुन १३ देखि हुने भएको छ । निस्ट कपमा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने प्रिन्सिपल दिलीप रानाले जानकारी गराए ।

बास्केटबलको ३ विधामा ३९ टिम सहभागी हुनेछन् । सिनियर ब्वाइजमा १४, सिनियर गर्ल्समा ९ र जुनियर गर्ल्समा १६ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । सिनियर ब्वाइजमा सेन्ट जेभियर्स र गर्ल्समा बौद्ध स्कुल डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर गर्ल्सको विधा पहिलोपल्ट समावेश गरिएको हो ।

फुटबलमा २४ छात्र टिमले लिगकम नकआउट आधारमा खेल्नेछन् । गत संस्करणमा ब्रम्हकुञ्ज विजेता बनेको थियो । फागुन २४ सम्म चल्ने प्रतियोगिताका खेल लोकन्थलीस्थित आयोजकको हातामा हुनेछ ।

प्रतियोगितामा यसपालिदेखि क्लाइमेट च्याम्पियनको उपाधि प्रदान गरिनेछ । क्लाइमेट च्याम्पियनबारे प्रकाश पार्दै प्रिन्सिपल रानाले भने, ‘ग्लोबल वार्मिङबारे जागरुकता जगाउन हामीले नयाँ प्रयोगका रूपमा पहिलो पटक यो विधा समावेश गरेका हौं ।’

प्लास्टिक प्रयोग नगर्ने, विद्युतीय सवारी साधन/साइकलको प्रयोग गर्ने वा छोटो दूरीको यात्रामा पैदल यात्रा गर्ने, पोसाकमा वातावरण जोगाउने सन्देशमूलक नारा लेख्नेलगायत विषयमा ध्यान दिएर विजेता चयन गरिने जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully