नेपालले वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङमा भाग लिने

फाल्गुन ८, २०८१

कान्तिपुर संवाददाता

Nepal will participate in World Mountain and Trail Running

काठमाडौँ — स्पेनमा सेप्टेम्बर २५ देखि २८ सम्म हुने तेस्रो वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले भाग लिने भएको छ ।

नेपाल एडभेन्चर रनिङ फेडेरेसनले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलाडीले वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन खेलाडी छनोट गरिने जनाएको छ ।

फेडेरेसनका अध्यक्ष एकेन्द्र कँवरले च्याम्पियनसिपमा नेपालबाट ४ महिला र ४ पुरुष खेलाडी र २ अफिसियलसहित १० जनाको टिम सहभागी गराउने तयारी गरिरहेको बताए ।

वर्ल्ड एथलेटिक्स, वर्ल्ड माउन्टेन रनिङ एसोसिएसन, इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आईटीआरए), आईएयू र स्पेनिस ट्रेल संघले संयुक्त रूपमा च्याम्पियनसिप आयोजना गर्नेछ ।

फेडेरेसनका अन्तर्राष्ट्रिय मामिला संयोजक प्रीति खत्रीले इच्छुक खेलाडीले सुरुमा आफ्नो नाम दर्ता गर्न सक्ने र त्यसपछि खेलाडी छनोट प्रक्रिया अघि बढाइने बताइन् । एक महिनापछि अप्रिलमा खेलाडी छनोट गरिने उनले जनाइन् ।

उनका अनुसार खेलाडी छनोटपछि उनीहरूलाई आफ्नो स्पोन्सर आफैं खोज्न फेडेरेसनले सम्झौता गरिदिने छ । तर त्यतिबेलासम्म खेलाडीका लागि फेडेरेसनले प्रायोजक खोज्ने प्रयास गरिने कुँवरले बताए । उनले यो फेडेरेसन नयाँ संघ भएकाले विस्तारै सहयोगी खोज्दै जाने बताए ।

नेपालका शीर्ष वरीयताका पुरुष खेलाडी सुमन कुलुङलाई अस्ट्रियास्थित डा. सिग्रिड फाउन्डेसनले प्रायोजन गर्नेछ । सुमनले यसअघि नै आफ्नो प्रायोजक पाइसेकोले उनको सहभागिता लगभग पक्का भइसकेको छ । नेपालबाहिर ट्रेल रनिङमा प्रतिस्पर्धा गरिरहेकी सुनमाया बुढालाई पनि कैलाश फुगाले स्पोन्सर गरेको छ ।

मार्च अन्तिममा इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आईटीआरए) स्कोर हेरेर शीर्ष वरीयताका खेलाडीलाई सहभागी गराउने फेडेरेसनको तयारी छ ।

अध्यक्ष कुँवरले जेठमा नेपालकै हालसम्मको ठूलो खप्तड रामारोशन अल्ट्रा ट्रेल रेस तथा चैत १७ मा लाङटाङ–शिवपुरी अल्ट्रा ट्रेल रेस गर्ने तयारीमा महासंघ जुटेको जानकारी गराए ।

कान्तिपुर

Link copied successfully