सुनसरी — युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) माथि पुनरागमन जित निकाल्दै मछिन्द्र क्लब १५ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । मछिन्द्रले इटहरी रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा खर्साङलाई ३—१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
खेलको सुरुवाती समयदेखि नै आक्रामक खेल प्रस्तुत गरेको मछिन्द्रले पहिलो हाफमा गरेको एक दर्जन प्रहार विफल भएको थियो । तीन पटकको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने आधा दर्जन प्रहारमा डिफेन्डर र गोलकिपर बाधक बनेका थिए । खेल अवधिभर खर्साङलाई दबाबमा राखे पनि ६५ औं मिनेटमा गोलरक्षक विशाल श्रेष्ठको गल्तीको फाइदा उठाउँदै हेमराज भुजेलले खर्साङलाई अग्रता दिलाए ।
मछिन्द्रले त्यसको ५ मिनेट नबित्दै पेनाल्टी हान्ने अवसर पायो । मछिन्द्रका विदेशी खेलाडी ओमोलाजा नुरेन हरिमले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ७२ औं मिनेटमा मल्लिक युसुफले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । मध्य भागबाट बल अघि बढाउँदै मल्लिकले वान भर्सेस वानको स्थितिमा आकर्षक गोल गर्दै टिमको पुनरागमन गराए । उनले नै अतिरिक्त ४ मिनेटको समयमा अर्को गोल गरे । प्लेयर अफ द म्याचमा चुनिएका युसुफले नगद १० हजार पाए ।
बिहीबारको दोस्रो सेमिफाइनलमा दुई पटकको विजेता सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लब सुनसरीबीचको विजेतासँग मछिन्द्रले फाइनलमा खेल्नेछ ।
