काठमाडौँ — नेपाल एपीएफ स्कुल कीर्तिपुर ‘ए’ ले दोस्रो अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता जितेको छ ।
घरेलु मैदानमा बिहीबार भएको फाइनलमा एपीएफ स्कुलले सैनिक आवासीय महाविद्यालय सल्लाघारीलाई ५–० ले पराजित गर्यो । कप्तान दीपक गुरुङप्रेरित एपीएफले फाइनलमा जोडदार प्रदर्शन गरेको थियो । विवेकानन्द कुशवाहको हेड गोलबाट अग्रता लिएको एपीएफबाट दीपकले लामो दुरीको प्रहारमा दुई गोल गरे । विकास बोहराले पनि दुई गोल गरे । सैनिक आमाविका इशान तामाङ प्लेयर अफ द फाइनल भए । एपीएफका रोशन बुढा उत्कृष्ट गोलरक्षक, तेन्जिङ शेर्पा सर्वोत्कृष्ट खेलाडी, विकास बोहरा सर्वाधिक गोलकर्ता भए । फेयर प्ले टिम ब्राइट होराइजन चिल्ड्रेन होम बन्न सफल भयो ।
उपाधिसँगै एपीएफले ६० हजार र उपविजेता सैनिक आमाविले २० हजार रुपैयाँ पाए । विजेताले सेमिफाइनलमा नेपाल पुलिस स्कुल साँगालाई ४–० ले र सैनिकले ब्राइट होराइजनलाई २–१ ले हराएका थिए । पुलिस स्कुलले तेस्रो हुँदै १० हजार पायो ।
उपत्यकाका १६, काभ्रे र बाँके जिल्लाका १–१ गरी १८ स्कुल सहभागी प्रतियोगिताका विजेता खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, विद्यालयका प्रधानाध्यापक युवराज पराजुलीलगायतले पुरस्कृत गरे ।
