काठमाडौँ — नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने भएको छ । पहिलो पटक गर्न लागिएको अफ्रिका भ्रमण मार्च ६ देखि १७ सम्म हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा भ्रमणमा कति खेल खेल्नेबारे निर्णय हुन बाँकी रहेको जनाएको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले नेपालले भ्रमणमा ५ खेल खेल्ने सम्भावना रहेको जनाए । इन्दु बर्माको कप्तानीमा क्यानले मंगलबार युगान्डा भ्रमणलाई १८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । भेट्रान अलराउन्डर सीता रानामगरलाई टोलीमा राखिएको छैन । चोटका कारण उनलाई नराखिएको लामाले बताए ।
टोलीका खेलाडीमा रुबिना क्षेत्री, विन्दु रावल, एलिसा यादव, सना प्रवीण, राजमति ऐरी, रोमा थापा, ममता चौधरी, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषा उपाध्याय, सवनम राई, सिमाना केसी, रचना चौधरी, शोभा रोकाया, रिया शर्मा र सम्झना खड्का छन् ।
महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा युगान्डा १८ र नेपाल २० औं स्थानमा छ ।
