काठमाडौँ — थ्रीस्टार क्लबले सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा मंगलबार दोस्रो क्वाटरफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोलले हराएर थ्रीस्टार अन्तिम चारमा पुग्यो ।
थ्रीस्टारको जितमा सुशील राईले तेस्रो मिनेट, नवीन लामाले १७ औं मिनेट र विदेशी खेलाडी फोफानाले २४ औं मिनेटमा गोल गरेका थिए । म्यान अफ द म्याच नवीन लामा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
पहिलो हाफ आफूलाई सम्हाल्न नसक्दा चार गोल खाएको हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । थ्रीस्टार चौथो संस्करणको विजेता हो । हिमालयन तेस्रो संस्करण उपविजेता हो ।
चौथो संस्करणमा विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसनलाई हराएर थ्रीस्टारले उपाधि जितेको थियो । हिमालयन शेर्पा भने जावलाखेल युवा क्लबसँग पराजित भएको थियो ।
