मकवानपुर — विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा १-० गोलले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफलाई जित दिलाउन सुजनकुमार पुलामीले ८३ औं मिनेटमा निर्णायक गोल गरे । पुलामी खेलको ८१ औं मिनेटमा अनिष महर्जनको स्थानमा मैदान प्रवेश गरेको थियो । खेलको म्यान अफ द म्याच एपीएफका मणिकुमार लामा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि एपीएफ भरतपुर एफसीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने संकटा भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो ।
गोल्डकपमा संकटा र एपीएफ यसअघिका संस्करणको उपविजेता टोलिहरु हो । एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो भने संकटा पाँचौ संस्करणमा क्यामरुनको भुटनिज स्पोर्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।
