बुटवल — रुपन्देहीमा सञ्चालन भइरहेको तेस्रो मेयर कप तथा बुटवल खुला लन टेनिसतर्फ महिला एकल स्पर्धाको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन अभिलाषा विष्ट र सुनिरा थापा भिड्ने पक्का भएको छ ।
बुटवलस्थित लनटेनिस भिलेजमा मंगलबार बिहान सञ्चालित पहिलो सेमीफाइनलमा अभिलाषाले प्रतिष्पर्धी आईशा डोल्कर गुरुङलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरेकी थिइन् । दोस्रो सेमीफाइनलमा सुनिरा थापाले भगवती विकलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी हुन् । सुनिराले पहिलो सेट ६–० को अग्रता लिएकी थिइन् । दोस्रो सेटमा भगवती रिटायर्ड हन्ट भएसँगै सुनिराले सजिलै उपाधिका लागि भिडन्त पक्का गरेकी हुन् ।
पुरुष एकलतर्फ साबिक विजेता प्रदीप खड्कासँगै निहालजंग थापा, निशान श्रेष्ठ र रितिक राना विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन प्रदिपले गोविन्द नेपालीलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गरे । निहालले सक्षमविक्रम शाहलाई ६–३, ६–१ को सोझो सेट, निशानले आयुषमान घलेलाई ६–१, ७–६, ९–७ को सेटमा, रितिकले देव आशिष रेउलालाई ६–२, ६–२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
यसैगरी, ३५ वर्षभन्दा माथि पुरुष एकलतर्फ मंगलबार सन्तोष खत्रीले बी विश्वास श्रीलाई ६–१, ६–१ को सेटमा, दीप जेब राणाले सुमन पौडेललाई ६–०, ६–१ को सेटमा, राजन पौडेलले सबर मियालाई ६–०, ६–० को सेटमा, सोम राना भने वाकओभर पाउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
४५ प्लस सिगलमा भने कमल भण्डारीले मनोज नेपाललाई ६–०, ६–१ को सेटमा, माधव भण्डारीले गोपाल ज्ञवालीलाई ६–०, ६–१ को सेटमा, राज गुरुङले सम्दुप के लामालाई २–६, ६–१, १०–८ को सेटमा, देव क्षेत्रीले रामु विकलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
३५ प्लस डबल्समा जितेन्द्र परियार र समिर श्रेष्ठको जोडीले अभिषेक पी र सागर थापाको जोडीलाई ६–०, ६–० को सेटमा तथा राजन पी र चोम बीएसको जोडी वाकओभर पाउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
४५ प्लस डबल्समा रोहित सुनुवार र हिमाल शाहको जोडीले अर्जुन गुरुङ र मनोज नेपालको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको म्याच डाइरेक्टर अजय बिष्टले बताए । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सयभन्दा बढी खेलाडी सहभागी छन् ।
