कुस्ती टोली भारत प्रस्थान

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Wrestling team leaves for India

काठमाडौँ —  मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका ६ खेलाडीसहित ८ सदस्यीय नेपाली कुस्ती टोली सोमबार भारतको उत्तरप्रदेशस्थित नन्दनीनगर गएको छ । तयारी थप प्रभावकारी बनाउन टोली भारत गएको हो ।

मिसन २०२६ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने २० औं एसियाली खेलकुदको तयारीलक्षित गरी सञ्चालन गरिरहेको छ । टोलीमा ३–३ पुरुष/महिला खेलाडी र २ प्रशिक्षक छन् । पुरुष खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव रहेका छन् ।

महिलामा सुशीला चन्द, मनीषा सिंह र हेमा भट्ट छन् । प्रशिक्षकमा कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसी र सहायक प्रशिक्षकमा सञ्जय यादव छन् ।

टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला र राखेपका सदस्य एवं नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले सोमबारै राखेपमा बिदाइ गरे ।

भारत बसाइका क्रममा टोलीले १५ दिन प्रशिक्षणका साथै भारतीय खेलाडीसँग मैत्रीपूर्ण खेल पनि खेल्ने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

कान्तिपुर संवाददाता

Link copied successfully