बुटवलमा खुल्ला लन टेनिस सुरु

एक सय बढी खेलाडी संलग्न

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Open lawn tennis starts in Butwal

रुपन्देही — सोमबारदेखि रुपन्देहीको देवीनगरस्थित टेनिस कम्प्लेक्समा तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा आजदेखि ९ फागुनसम्म प्रतियोगिता हुने संयोजक विष्णुप्रसाद चापागाईंले बताए ।

प्रतियोगितामा एकलतर्फ पुरुष-महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरी ६ विधा र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस  र पुरुष ५५ प्लस गरी ५ विधा गरी कुल ११ विधामा प्रतियोगिता हुनेछ । एकलतर्फ पुरुष-महिला एकलको विजेताले नगद ६०/६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतीय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरी पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमश: ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । 

त्यस्तै पुरुष डबल्स, महिला डबल्सको विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले १० हजार र तृतीयले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसका विजेतालाई जनही नगद १५ हजार, उपविजेतालाई १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ । 

लन टेनिस खेल र खेलाडी विकास गर्ने उद्देश्यका साथ संघबाट निरन्तर खेल गतिविधि हुँदै आएको संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । बुटवल उपमहानगरपालिकाबाट १२ लाख रुपैयाँ सहयोगमा हुने प्रतियोगिता आयोजना गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको ज्ञवालीले बताए । प्रतियोगितामा महिला सिंगलतर्फ ७ जनासहित एक सय बढी खेलाडी प्रतियोगितामा सहभागी भइरहेको आयोजकले भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully