इस्टपोललाई लोयल्टी कप

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Loyalty Cup to Eastpole

काठमाडौँ — इस्टपोलले १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक लोयल्टी एकेडेमीको मैदानमा सोमबार भएको फाइनलमा इस्टपोलले लिटिल एन्जल्सलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । लिटिल एन्जल्स २०७४, २०७५ र २०७६ सालमा भएको प्रतियोगिताको उपाधि विजेता हो । निर्धारित समयमा आत्मघाती गोलमा इस्पोटले १–० गोलको सुरुआती अग्रता लिएको थियो । लिटिल एन्जल्सका आयुश थापाले गोल फर्काएपछि खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

पेनाल्टी सुटआउटमा इस्टपोलका छेवाङ लामा, सुमित कार्की र रुजन तामाङले गोल गरे । लिटिल एन्जल्सबाट विज्ञानराज भण्डारी मात्र गोल गर्न सफल भए ।

प्रतियोगितामा लिटिल एन्जल्सका विज्ञानराज भण्डारी उत्कृष्ट फर्वाड, चेल्सी वर्ल्ड स्कुलका सुवास तामाङ उत्कृष्ट डिफेन्डर, लोयल्टीका उसुम थापा उत्कृष्ट मिडफिल्डर, इस्टपोलका विवस थिङ उत्कृष्ट गोलरक्षक र इस्टपोलका सुदर्शन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिता अवधिभर १४ गोल गरेका लिटिल एन्जल्सका आयुष थापा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । गेट्वे एकेडेमीले उनुशासित टिमको ट्रफी हात पार्‍यो ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, लोयल्टी विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीराम क्षेत्री, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङ, लोयल्टी भाइस प्रिन्सिपल हरि दाहाललगायतले पुरस्कृत गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully