धनगढीद्वारा देवेन्द्र, रामचन्द्र र रन्दिप रिटेन

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Devendra, Ramchandra and Randeep retained by Dhangadhi

काठमाडौँ — धनगढी सिटी एफसीले आउदो नेपाल सुपर लिग (एनएसएल) का लागि कप्तान देवेन्द्र तामाङसहित ३ खेलाडीलाई रिटेन गरेको छ । धनगढीले देवेन्द्र तामाङ, रामचन्द्र वाझी र रन्दिप पौडेललाई रिटेन गरेको जनाएको छ । देवेन्द्रलाई ‘ए’ क्याटोगोरी र रामचन्द्र तथा रन्दिपलाई ‘बी’ क्याटोबारीमा रिटेन गरेको हो ।

देवेन्द्रको कप्तानीमा दुई वर्ष अगाडि भएको एनएसएलको पछिल्लो सिजनमा धनगढीले फाइनल खेलेको थियो । तीन जना खेलाडीलाई रिटेन गर्न पाउने नियम अनुसार उनीहरुलाई रिटेन गरेको धनगढी एफसीले जनाएको छ । धनगढीले यसअघि नै कृतिशरत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरिसकेको छ । 

क्लबले आइतबार २१ वर्षीय युवा अट्याकिङ मिडफिल्डरलाई मार्की बनाएको थियो । छुन्जुले पहिलो सिजन बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए । दोस्रो सिजन भने धनगढी पुगेका हुन् । धनगढी दुवै संस्करणको उपविजेता टोली हो ।

धनगढीले सहायक प्रशिक्षकमा भिष्म भाटलाई नियुक्त गरेको जनाएको छ । गो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढीले सोमबार धनगढीमा एक कार्यक्रम बीच भाटलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । सहायक प्रशिक्षक भाट र गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीबीच तेस्रो संस्करणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । भाटले आफ्नै सहरको टिममा काम गर्न पाउँदा खुसी लागेको बताए । उनले टोलीलाई उत्कृष्ट नतिजा दिलाउनका लागि आफ्नो तर्फबाट लाग्ने पनि बताए ।

पहिलो संस्करणको फाईनलमा धनगढी काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । अर्को संस्करणमा भने ललितपुर सिटीले फाइनलमा धनगढीलाई ३–२ ले पराजित गरेको थियो । तेस्रो संस्करणको अक्सन शनिबार हुँदैछ । यसपल्टको एनएसएलमा धनगढी सहित सात टोलीले प्रतिस्पर्धा गर्दैछ ।

कान्तिपुर

Link copied successfully