काठमाडौँ — नेपाल महिला रग्बी क्लबको आयोजनामा राष्ट्रिय यू–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप फागुन ६ र ७ मा हुने भएको छ ।
प्रतियोगितामा ६ प्रदेश र २ क्लब गरी ८ टिम सहभागिता रहने आयोजक क्लबकी अध्यक्ष एलिसा थापाले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश, कोशी र बागमती प्रदेश तथा आयोजक नेपाल महिला रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबले प्रतियोगितामा सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिगकम नकआउट आधारमा खेलाइने छ । समूहका शीर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।
विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । आयोजकले सहभागी टिमलाई एकतर्फी यातायात खर्च, खाना, खाजा र बसोबासको व्यवस्था गर्नेछ । उमेर समूहको खेलाडीलाई एक्सपोजर प्रदान गर्न र दसौं राष्ट्रिय खेलकुदको तयारीलाई ध्यानमा राखेर प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेल भक्तपुरस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा हुनेछ ।
