लखन कप फागुन ११ देखि

फाल्गुन ४, २०८१

प्रकाश बराल

Lucknow Cup from February 11

बागलुङ — ४३ औं नेपाल मगर संघ स्थापना दिवसको अवसरमा नेपाल मगर संघ बागलुङले चौंथो संस्करणको ‘लखन कप खेलकुद’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संघले आइतबार पत्रकार सम्मेलन गरेर फागुन ११ देखि १५ गतेसम्म ५ दिवसीय विविध खेलका कार्यक्रम गर्न लागिएको संघका बागलुङ अध्यक्ष श्यामबहादुर पुनले जानकारी दिए । लखन कपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, पुरुष तथा महिला छेलो प्रतियोगिता, पुरुष तथा महिला रस्साकस्सी (लठ्ठो तान्ने) प्रतियोगिता आयोजना गरिने भएको हो । भलिबलतर्फ वडास्तरीय समूहले भाग लिन पाउने छन् भने अन्य खेलमा स्वतन्त्र र खुला रहने छ ।

पुरुष भलिबलतर्फ प्रथम हुनेलाई ८१ हजार १ स ८१ र द्वितीय हुनेलाई ४१ हजार १ सय ४१ रुपैयाँ पुरस्कार दिइने छ । महिलातर्फ प्रथम हुनेलाई ३० हजार र द्वितीय हुनेलाई १५ हजार रुपैयाँ दिने आयोजकले जनाएको छ । 

छेलो प्रतियोगितामा पुरुषतर्फ प्रथमलाई ८ हजार र द्वितीयलाई ४ हजार र महिलातर्फ प्रथम हुनेलाई ५ हजार र द्वितीयलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने छ । 

रस्साकस्सीतर्फ पनि पुरुषको प्रथम ५ हजार र द्वितीयलाई ३ हजार, महिलातर्फ प्रथमलाई ४ हजार र द्वितीयतर्फ २ हजार पुरस्कार दिइने जनाइएको छ । 

चार वर्षदेखि संघले लगातार लखन कप आयोजना गर्दै आएको छ । खेल आयोजनाका लागि ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । त्यसबाहेक फागुन १५ गते मूल समारोहसमेत हुनेछ । 

जिल्लाको कुल जनसंख्याको ३० प्रतिशत मगर समुदाय रहेकोले पहिचानका लागि पनि दिवस मनाउने गरिएको पुनले जनाए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully