इटहरी गोल्डकपमा आयोजक बाहिरियो

फाल्गुन ३, २०८१

अर्जुन सुवेदी

The hosts were eliminated in the Itahari Gold Cup

सुनसरी — आयोजक राष्ट्रिय जागृति क्लब १५ औं संस्करणको आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरीएको छ । शनिबार उद्घाटन खेलमा पाहुना टोली युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) सँग २–१ ले पराजित भयो । सेमिफाइनल पुगेको यूकेएफसीले गत संस्करणमा बेहोरेको हारको बदलासमेत लिएको छ ।

गत संस्करणमा युकेएफसी आयोजकसँग पेनाल्टी शुटआउटमा ५–४ ले पराजित भएको थियो ।

इटहरी रंगशालामा यूकेएफसीलाई जिताउन सत्यम् शर्मा र हेमराज भुजेलले गोल गरे । राष्ट्रिय जागृतिका विदेशी खेलाडी एलेक्सले गोल गरे । खेलको ११ औं मिनेटमा उमेश कार्कीको प्रहारमा एलेक्सले आकर्षक हेड गोल गरेर आयोजकलाई अग्रता दिलाए । तर, आयोजकको अग्रता १० मिनेट पनि टिक्न सकेन । सत्यम्ले फ्रिकिकबाट २१ औं मिनेटमा गोल फर्काएर खेल १–१ को बराबरीमा ल्याए । आयोजकका बिकु राईले यूकेएफसीका नवदीप नजहरीलाई लडाएपछि प्राप्त फ्रिकिकमा सत्यम्ले गोल गरे । ।

पहिलो हाफमा १–१ को बराबरी खेलेका दुवै टिमले दोस्रो हाफमा पाएका केही अवसर सदुपयोग गर्न सकेनन् । ५५ औं मिनेटमा यूकेएफसीका हेमराजले गोल गर्दै २–१ को अग्रता दिलाए । चाम्रपरीले उपलब्ध गराएको पासमा उनले गोल गरे । म्यान अफ द म्याच सत्यम् शर्मा भए । उनले १० हजार पुरस्कार पाए । युकेएफसीले सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र झापा ११ बीचको विजेतासँग बुधबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

आइतबार दोस्रो क्वाटरफाइनलमा बुढासुब्बा गोल्डकप च्याम्पियन एनआरटी र दुई पटकको च्याम्पियन सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

अर्जुन

Link copied successfully