बागमती गोल्डकप सुरु, उद्घाटनमा आयोजक स्तब्ध

फाल्गुन ३, २०८१

सुवास विडारी

Bagmati Gold Cup begins, organizers shocked at the opening

मकवानपुर — सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली पराजित भएको छ । मकवानपुरका पूर्वीक्षेत्रमा अवस्थित बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा शनिबारबाट सुरु भएको प्रतियोगितामा बागमती युथ क्लब सर्लाहीले आयोजक टोली बागमती गाउँपालिका खेलकुद विकास समितिलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

बागमती युथको जितमा विमल घिसिङले निर्णायक गोल गरे । उनले खेलको ७६ औं मिनेटमा उत्कृष्ट गोल गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । घिसिङले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

दुवै टोलीले खेल अवधिभर उत्कृष्ट मौका सिर्जना गर्न सकेनन् । राष्ट्रियस्तरको प्रतियोगिता भए पनि आयोजक र सर्लाहीको खेल सुस्त गतिमा अगाडि बढेको थियो । अनुभवको अभावमा खेलाडीबीच मैदानमै तालमेलको समस्या देखिएको थियो । प्रतियोगिताअन्तर्गत आइतबार सशस्त्र प्रहरीको टोली (एपीएफ) क्लब र भरतपुर एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता छ । कुल ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि आयोजक गाउँपालिकाले २५ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ । 

प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । उनले पालिकाले आफ्नै लगानीमा निर्माण गरेको मिनी रंगशालाको उद्घाटनसमेत गरेका थिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully