काठमाडौँ — नेपाल पुलिस स्कुल साँगा र नेपाल एपीएफ स्कुल कीर्तिपुर ‘ए’ शुक्रबार दोस्रो अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।
यसअघि नै ब्राइट होराइजन चिल्ड्रेन होम र सैनिक आवासीय महाविद्यालय सल्लाघारीले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
पुलिस स्कुलले नेपाल एपीएफ स्कुल कीर्तिपुर (बी) लाई उसकै मैदानमा ४–१ गोलले हरायो । पुलिसबाट उत्सव खड्का, दिप्सन पाण्डे, सिवन पराजुली र मनिस वनराइतले १–१ गोल गरे । दोस्रो क्वाटरफाइनलमा एपीएफ स्कुल (ए) ले नेपाल एपीएफ कोहलपुरलाई २–१ ले पराजित गर्यो । विजेताबाट प्रिन्स मोक्तान र विकास बोहोराले गोल गरे ।
उत्कृष्ट खेलाडीमा चुनिएका पुलिसका दिप्सन खड्का र एपीएफ स्कुल कोहलपुरका मानव खत्रीलाई स्कुल सुरक्षावेसका प्रमुख सप्रनि मनोज विष्ट र एपीएफ स्कुलका सहायक प्रधानाचार्य राजकुमार प्याकुरेलले ट्रफी प्रदान गरे ।
