नेपालगन्ज — ग्रिनपिस मावि कोहलपुर मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार नेपालगन्ज रंगशालामा सम्पन्न सेमिफाइनलमा ग्रिनपिसले धम्बोझी माविलाई १–० ले पराजित गरेको थियो ।
विराज रोकायले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ग्रिनपिसका गोलकिपर झलक सिंह प्लेयर अफ द म्याच भए । उनलाई नेपालगन्ज उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर थापाले पुरस्कृत गरे ।
मोर्डन पब्लिक र होप स्कुललाई प्रोटेस्ट लागेपछि दुवै टिमलाई प्रतियोगिताबाट निष्कासन गरिएको छ । दुवै विद्यालयले १८ वर्षभन्दा माथि र फरक खेलाडीको कागजात पेस गरी खेलेको प्रमाणित भएपछि मोर्डन र होपलाई कारबाही आयोजकले जनाएको छ ।
छात्रतर्फ शनिबार मनकामना स्कुल र ब्राइटल्यान्ड स्कुलले प्रतिस्पर्धा गर्नेछन् । गर्ल्सतर्फ सेन्ट जेभियर्स र आदर्श माविले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
