एकै खेलमा रियलको दुईपल्ट पुनरागमन

फाल्गुन १, २०८१

एएफपी

Real came back twice in one game

पेरिस — जुड बेलिङ्घमले स्टपेज–टाइममा गरेको गोल मदतमा रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिग फुटबलमा मंगलबार म्यानचेस्टर सिटीलाई ३–२ ले हराएको छ ।

प्ले–अफ टाइको पहिलो लेगको एकै खेलमा रियलले दुईपल्ट पछाडि रहेको स्थिति उल्टाएर उत्कृष्ट पुनरागमन रचेको हो । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने आफ्नो फ्रान्सेली प्रतिद्वन्द्वी ब्रेस्टविरुद्धको भिडन्तमा स्थिति पूर्ण आफ्नो नियन्त्रणमा लिएको छ । 

प्रतियोगिताको ‘ब्लकबस्टर’ खेलमा इर्लिङ हालान्डले दुई गोल गरेपछि पेप ग्वार्डिओलाको टिमले झिनो अन्तरको अग्रता लिने छाँट देखिएको छ । तर, जितपछि प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन रियल अर्को चरण प्रवेश गर्नका लागि बलियो प्रत्याशी बनेको छ । अन्तिम १६ पुग्न दोस्रो लेगको खेल अर्को साता स्पेनमा हुनेछ । ‘हामीले सिजनकै सबैभन्दा राम्रो फुटबल खेल्यौं । तर हामी दुईपल्ट पछाडि पर्‍यौं, फुटबलमा यस्तै हुने गर्छ,’ वेलिङ्घमले भने । 

उनको प्रतिक्रिया थियो, ‘सिटी कस्तो लयमा छ, त्यसको मलाई मतलब छैन । सिटी आफैंमा निकै बलियो टिम हो । सिटीविरुद्ध खेल्न कहिले पनि सजिलो हुन्न । खेलको अन्त्यमा प्राप्त मौकाको सदुपयोग गर्न हामी सफल रह्यौं ।’ च्याम्पियन्स लिगमा सिटी र रियल नकआउट चरणमा भेटेको पनि यो लगातार चौथो सिजन हो । त्यसमध्ये जुन टिमले टाइ जितेको छ, त्यसमध्ये तीन अवसरमा त्यही टिमले उपाधि पनि जितेको छ । 

इतिहादमा भएको खेलमा सिटीले सुस्त सुरुआत लिएको थियो । यसबीच १९ औं मिनेटमा हालान्डले गोलको खाता खोले । खेलले एक घण्टा छुँदा केलियन एमबाप्पेले बराबरी गोल फर्काए । त्यसको १० मिनेटपछि हालान्डले आफ्नो दोस्रो गोल गरे र सिटी फेरि अगाडि रह्यो । खेलको ८६ औं मिनेटमा सिटीका पूर्वखेलाडी ब्राहिम डियाजले रियलका लागि बराबरी गोल गरे । बेलिङ्घमले भने इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक साबित गोल गरे । 

हारपछि सिटीका डिफेन्डर जोन स्टोन्सले भने, ‘यस्तो खेलबारे प्रतिक्रिया दिन नै गाह्रो हुने गर्छ, किनभने हामी सबै निराश छौं । हामीलाई आफ्नै खेललाई लिएर रिस उठेको छ । हामीले यो भन्दा राम्रो प्रदर्शन गर्नुपर्ने थियो । यस्तो खराब नतिजापछि टिमसामु एउटै उपाय हुने गर्छ र त्यो अगाडि बढ्ने नै हो ।’ फ्रान्समा भने ओसमन डेम्बेलेले आफ्नो सनसनीपूर्ण लय कायम राख्दै दुई गोल गरे र पीएसजीले ब्रेस्टमाथि ३–० को सजिलो जित रच्यो । 

भिटिन्हाले पेनाल्टीबाट गोलको खाता खोलेका थिए । फ्रान्सेली खेलाडी डेम्बेलेले पछिल्ला ११ खेलमा १८ गोल गरिसकेका छन् । पीएसजी प्रशिक्षक लुइस एनरिकेले उनको प्रशंसा गर्दै भनेका छन्, ‘अहिले डेम्बेलेको आत्मविश्वास अकासिएको छ । सन् २०२४ मा पनि उनले धेरै राम्रो खेलेका थिए । सन् २०२५ मा उनको प्रदर्शन अझ राम्रो भएको छ ।’ युभेन्ट्सले भने टुरिनमा भएको खेलमा पीएसभी आइन्डहोभनलाई २–१ ले हरायो । 

अमेरिकी खेलाडी वेस्टन म्याकेनीले युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएयता डच टिमका लागि इभान पेरिसिचले बराबरी गोल फर्काए । निर्णायक गोल भने सामुयल एमबाङ्गेलाको नाममा रह्यो । उनले ८२ औं मिनेटमा नजिकको दूरीबाट गरेको प्रहार गोलमा परिणत भयो । बोरुसिया डर्टमन्ड पनि लगभग अन्तिम १६ मा पुगेको स्थितिमा छ । टोलीले स्पोर्टिङ लिस्वनलाई उसकै घरमा ३–० ले हरायो । त्यसमा सेरहु गुरासी, पास्कल ग्रस र करिम एडेयमीले १–१ गोल गरे ।

एएफपी

Link copied successfully