काठमाडौँ — लोयल्टी एकेडेमीले १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा आयोजक लोयल्टीका तीनसहित १४ टिमले प्रतिस्पर्धा गर्ने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले बिहीबार पत्रकार सम्मेलनमा बताए । सहभागीलाई चार समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।
समूह ‘ए’ मा त्रिज्योति, चेल्सी वर्ल्ड, हिमालयन र लोयल्टी ‘ए’ तथा समूह ‘बी’ मा होलीगार्डेन, लिटिल एन्जल्स, फेरिल्यान्ड र लोयल्टी ‘सी’ रहेका छन् । पिस प्वाइन्ट, इस्टपोल र गेटवे एकेडेमी समूह ‘सी’ तथा लोयल्टी ‘बी’ रिलायन्स र जगत मन्दिर समूह ‘डी’ मा छन् ।
प्रतियोगितामा यू–१२ उमेर समूहका कक्षा ७ सम्म अध्ययनरत ४.११ फिट उचाइका विद्यार्थी सहभागी हुन पाउनेछन् । सेभेन ए साइड स्वरुपमा हुनेछ । करिब ३ लाख खर्च हुने लोयल्टीका ईसीए इन्चार्ज ग्याल्जेन शेर्पाले बताए ।
गत संस्करणको उपाधि पिस प्वाइन्टले जितेको थियो । त्यसअघि लिटिल एन्जल्स, आयोजक लोयल्टी र ज्ञानोदयले २–२ पटक उपाधि जितेका छन् । फागुन ५ सम्म चल्ने प्रतियोगिताका खेल आयोजकको आफ्नै मैदानमा हुनेछ ।
