काठमाडौँ — फाल्डो जुनियर गल्फ टुर नेपाल च्याम्पियनसिपको दोस्रो दिन बुधबार १७–२१ वर्ष उमेर समूह र समग्रमा नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य अग्रता कायम राखेका छन् ।
उनले १ अन्डर ६७ को सानदार प्रदर्शन गर्दै ३६ होलको समाप्तिमा इभन पार १३६ स्कोर बनाए । सोही उमेर समूहमा सद्भावले प्रकृत तामाङलाई ९ स्ट्रोकले पछि पारेका छन् । प्रकृतले ५ ओभर ७३ खेल्दै कुल ९ ओभर १४५ को स्कोर निकाले । स्वप्निल भट्टराई लगातार दोस्रो दिन ७ ओभर ७५ खेल्दै १४ ओभर १५० सहित तेस्रो स्थानमा छन् ।
पुरुष १२–१६ वर्षतर्फ सिद्धान्त सापकोटा शीर्षस्थानमा उक्लिए । उनले ११ ओभर ७ खेल्दै ३६ होलको खेल सकिँदा कुल ३ ओभर १६६ स्कोर बनाए । उनले इदान्त सिंह साउदलाई १ स्ट्रोकले पछि पारे । इदान्तले दोस्रो दिन १ ओभर ८७ खेल्दै कुल ३१ ओभर १६७ को स्कोर जोडे । यो स्कोरमा पहिलो दिन शीर्षस्थानमा रहेका इदान्त दोस्रो स्थानमा झरे । सोहम अग्रवाल १७४ स्कोरसहित तेस्रो स्थानमा छन् । उनले ८२ स्कोर बनाए ।
महिला १२–२१ वर्ष समूहमा अभानी राईले अग्रता फराकिलो बनाइन् । उनले १७ ओभर ८५ खेल्दै कुल ३७ ओभर १७३ स्कोर जोडिन् । अनभद्या मल्ल ९७ को स्कोरमा कुल १९५ सहित दोस्रो स्थानमा छन् । पहिलो दिनपछि सात महिला गल्फर बाहिरिए । जसका कारण दुई गल्फरबीच मात्र प्रतिस्पर्धा चलिरहेको छ ।
सद्भावले फ्रन्टनाइनमा २ अन्डर ३२ खेले । पहिलो, चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गरेका उनले दोस्रो र सातौं होलमा बोगी प्रहार गरे । यसपछि ११ र १७ औं होलमा बर्डी प्रहार गरे । १४, १५ र १६ औं होलमा बोगी खेपेपछि उनी ब्याकनाइन १ ओभर ३५ मा सिध्याउन बाध्य भए ।
प्रकृतले फ्रन्टनाइनमा २ ओभर ३६ र ब्याकनाइनमा ३ ओभर ३७ खेले । स्वप्निलले ४ ओभर ३८ र ३ ओभर ३७ स्कोर बनाए । पुरुष १२–१६ वर्षतर्फ सिद्धान्तले फ्रन्टनाइनमा ४ ओभर ३८ र ब्याकनाइनमा ७ ओभर ४१, इदान्तले ९ ओभर ४३ र १० ओभर ४४ तथा सोहमले ४२ र ४० स्कोर गरे । अभानीले ४७ र ३८, अनभद्याले ५३ र ४४ स्कोर गरिन् ।
