पुरुषतर्फ प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ र महिलातर्फ प्रथम हुनेले ६० हजार रुपैयाँ प्राप्त गरे ।
रुकुम पश्चिम — रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ‘जनयुद्ध दिवस’का अवसरमा ‘राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन’ आयोजना गर्यो । बिहीबार आयोजित सातौं संस्करणको म्याराथनमा पुरुषतर्फ रुकुम पश्चिमका दुर्गा बुढा र महिलातर्फ जुम्लाकी कल्पना बुढा प्रथम भए ।
निर्धारित ४८ किलोमिटर दूरी ४ घण्टा ५२ मिनेटमा पार गरेर दुर्गा र ३४ किलोमिटर दुरी ३ घण्टा १४ मिनेटमा पार गरेर कल्पना विजेता भएका हुन् । यसका साथै ४ घण्टा ५३ मिनेटमा निर्धारित दूरी पार गर्दै पुरुषतर्फ रुकुम पश्चिमका भुवन ओली दोस्रो र ४ घण्टा ५७ मिनेटमा दूरी पार गर्दै रुकुम पश्चिमकै अर्जुन बस्नेत तेस्रो भएको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष भिमप्रकाश विकले बताए । उनका अनुसार महिलातर्फ ३ घण्टा १६ मिनेटमा निर्धारित पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावतले दोस्रो र ३ घण्टा ५७ मिनेटमा दूरी गरेर जुम्लाकै सन्दिपा बुढाले तेस्रो स्थान हात पारेका छन् ।
म्याराथनमा स्थान हासिल गर्नेमध्ये पुरुषतर्फ प्रथम हुनेले १ लाख ५० हजार, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेलाई ४५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने महिलातर्फ प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार नगद तथा मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
यसवर्षको म्यारथनमा पुरुषतर्फ ५३ जना र महिलातर्फ ३२ ले सहभागी जनाएका थिए । तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ देखि थालेको सशस्त्र विद्रोहलाई ‘जनयुद्ध दिवस’ का रुपमा गाउँपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिने र यसप्रकारका कार्यक्रम आयोजना गर्ने गरेको पालिका अध्यक्ष बिर्खबहादुर विष्टले बताए ।
हरेक वर्ष आयोजना हुने प्रतियोगितामा भाग लिने खेलाडीले तत्कालीन माओवादी गुरिल्लाले लगाउने पोसाक लगाएर सहभागिता जनाउने गर्छन् ।
