काठमाडौँ — नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन् । उनी समग्र र १७–२१ वर्ष उमेर समूहमा विजेता बने ।
सदभाव प्रतियोगिताअघि नै भियतनामको ला–लगुना मा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा स्वतः छनोट भइसकेका थिए । नोभेम्बरमा यूएईमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलको उपाधि जितेका कारण उनी सिधै छनोट भएका हुन् ।
सोही उमेर समूहमा दोस्रो भएका प्रकृत तामाङ पनि छनोट भए । ब्वाइज १२–१६ वर्ष उमेर समूहबाट सिद्धान्त सापकोटा र महिला १२–२१ वर्ष उमेर समूहबाट अभानी राई विजेता बन्दै एसिया ग्रान्ड फाइनलमा स्थान बनाउन सफल रहे ।
विजेता सद्भावले बिहीबार रोयल नेपाल गल्फ क्लबमा २ अन्डर ६६ स्कोर जोड्दै समग्रमा २ अन्डर २०२ को कार्ड बनाए । उनले प्रकृत तामाङलाई २१ स्ट्रोकले पछि पारे ।
सद्भावले चौथो र आठौं होलमा बर्डी प्रहार गर्दा तेस्रो र नवौं होलको बोगीले फ्रन्टनाइन इभन–पार ३४ मा सके । यसपछि १० र १७ औं होलको बर्डीको सहयोगले ब्याक नाइन २ अन्डर ३२ मा सके ।
प्रकृत १० ओभर ७८ को स्कोरसहित समग्रमा १९ ओभर २२३ सहित दोस्रो भए । उनले फ्रन्टनाइन ४ ओभर ३८ र ब्याक नाइन ६ ओभर ४० मा पूरा गरे । स्वप्निल भट्टराईले तेस्रो भए । उनले ११ ओभर ७९ स्कोर जोडे । समग्रमा उनले २५ ओभर २२९ को प्रदर्शन गरे ।
१२–१६ वर्ष उमेर समूहमा स्वर्ण जितेका सिद्धान्तले ५ ओभर ७३ को स्कोर कार्ड बनाए । उनले समग्रमा ३५ ओभर २३९ को स्कोरसहित सोहम अग्रवाल र इधान्त सिंह साउदलाई १० स्ट्रोकले पछि पारे । इधान्तलाई काउन्ट ब्याकमा हराएका सोहमले कुल २४९ स्कोर गरे । उनले ७ ओभर ७५ को स्कोर निकाले । सोहमले जत्तिकै २४९ स्कोर गरेका इधान्तले १४ ओभर ८२ को खराब प्रदर्शन गरेका थिए ।
गर्ल्स १२–२१ वर्षतर्फ अभानी राई पहिलो भइन् । उनले १३ ओभर ८१ सहित समग्रमा २५४ स्कोर गरिन् । उनले अनभद्या मल्ललाई २८ स्ट्रोकको फराकिलो अन्तरमा हराइन् । अनभद्याले कुल २८२ स्कोर गरिन् ।
जुनियर ब्वाइजतर्फ ९ होलको प्रतियोगितामा आर्यभ शाह पहिलो, देव जलान दोस्रो र संयोग खनाल तेस्रो भए । गल्सतर्फ रिजु राई, आद्रिती थापा र श्रीषा कँडाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
विजयी खेलाडीलाई नेपाल गल्फ संघका कार्यबाहक अध्यक्ष पवित्रकुमार कार्की, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्वा, क्याप्टेन मिथुन राई र लेडी क्याप्टेन आर्सिया बानुले पुरस्कार वितरण गरे ।
