एक्सेल्सियर दुई विधाको फाइनलमा

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

Excelsior in two category finals

काठमाडौँ — आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा बिहीबार उपाधि नजिक पुगेको छ । एक्सेल्सियर यू–१४ र यू–११ उमेर समूहमा फाइनल पुगेको हो ।

यू–१४ मा एक्सेल्सियर ‘नीलो’ ले आफ्नै ‘रातो’ टिमलाई ३–२ गोलले पराजित गर्‍यो । विजेताका साहिलराज थापा, निर्माण घिमिरे र कृष पाण्डेले १–१ गोल गरे । ‘रातो’ का आयाज गोलेले १ गोल फर्काए भने एक गोल आत्मघाती थियो । फाइनलमा एक्सेल्सियर ‘नीलो’ को भेट विद्यावाणी पाठशालासँग हुनेछ । विद्यावाणीले काठमाडौं लिंकनलाई २–० ले हरायो । दुवै गोल प्रज्ज्वल गौतमले गरे ।

यू–११ मा एक्सेल्सियरले राई स्कुललाई १–० गोलले हरायो । ओजस पाठकले गोल गरे । एक्सेल्सियरले फाइनलमा स्वस्तिश्री गुरुकुलको सामना गर्नेछ । स्वस्तिश्रीले न्यु जेनिथलाई ३–१ गोलले हरायो । स्वस्तिश्रीका प्रसिन कोइरालाले एक गोल गरे भने दुई गोल आत्मघाती थियो । न्यु जेनिथका प्रजेश श्रेष्ठले १ गोल गरे ।

यू–१६ मा बोधिसत्व र रिब्सले फाइनल पक्का गरे । बोधिसत्वले स्वस्तिश्रीलाई ४–२ गोलले हरायो । बोधिसत्वका लाक्पा तामाङले २, निमेश तामाङ र शान्ता तामाङले १–१ गोल गरे । स्वस्तिश्रीका दीप खत्री र वैभव ताम्राकारले गोल गरे । रिब्सले निःसर्ग वाटिकामाथि ३–१ को जित दर्ता गर्‍यो । रिब्सका रिसन लामाले २ र आर्यन केसीले १ गोल   गरे । निःसर्ग वाटिकाका अक्सिनदास श्रेष्ठले एक गोल गरे । यू–९ मा संस्कृतिले एक्सेल्सियरलाई २–१ तथा राई स्कुलले काभ्यालाई २–१ गोल निराश पार्दै फाइनलमा स्थान पक्का गरे ।

एक्सेल्सियर कपअन्तर्गत बास्केटबल सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकले एक्सेल्सियरलाई ५०–३१ र भ्याली भ्यूले एलआरआईलाई ६१–२५ ले हराएर फाइनल तय गरे । रेडियन्टका सुशनराज न्यौपानेले १७ र भ्याली भ्यूका गणेशबहादुर विष्टले २९ स्कोर गरे ।

सिनियर गर्ल्समा रिब्सले रेडियन्ट पब्लिकलाई ३१–२७ र स्वर्णिमले एक्सेल्सियरलाई १६–१० ले हराएर फाइनल यात्रा तय गरे । रिब्सका निमिशा धामीले १५ र स्वर्णिमकी नितिशा महर्जनले १२ स्कोर गरे ।

कान्तिपुर

Link copied successfully