क्षेत्री युएस ओपनमा निर्णायक

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

Chhetri is the decider at the US Open

काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री राजु क्षेत्रीले विश्व वरीयतामा रहेको जी–टुको प्रतियोगिता युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निभाउने भएका छन् ।

फेब्रुअरी १४ देखि १६ सम्म अमेरिकाको नेभाडाको रेनोमा हुने प्रतियोगितामा ५० देशका झन्डै २४ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अन्तर्राष्ट्रिय निर्णायक क्षेत्रीले युएस ओपनमा जजको भूमिका निभाउन लागेको यो लगातार तेस्रोपल्ट हो । विश्व तेक्वान्दोले युएस तेक्वान्दो र युएस ओलम्पिकको संयोजनमा आयोजना गर्ने प्रतियोगिता विश्वको ठूलो प्रतियोगितामध्ये एक हो ।

क्षेत्रीले यसअघि सन् २०२३ मा लस भेगास र गत वर्ष रेनोमै भएको युएस ओपन च्याम्पियनसिपमा निर्णायकको भूमिका निभाएका थिए । त्यस्तै दक्षिण कोरियामा भएको विश्व वरीयताको जी–वान प्रतियोगिता किमुन्योङ कप, जापानको ओसाकामा भएको जापान ओपन र कोरियामा २०२३ मा भएको सिओङनाम ओपन प्रतियोगितामा जजको भूमिका निभाएका थिए ।

क्षेत्रीले सन् २००८ मा भएको विश्व वरीयताको जी–टु कोरियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको रूपमा स्वर्ण जितेका थिए । खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानका कारण क्षेत्रीलाई २०१३ मा कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गर्दै सम्मान गरेको थियो ।  

कान्तिपुर संवाददाता

Link copied successfully