काठमाडौँ — ब्राइट होराइजन चिल्ड्रेन होम दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा ब्राइट होराइजनले ग्रिन भिलेज एजुकेसन फाउन्डेशन कीर्तिपुरलाई ५–४ ले पराजित गर्यो ।
नेपाल एपीएफ स्कुल कीर्तिपुरमा भएको अर्को खेलबाट सैनिक आवासीय महाविद्यालय सल्लाघारी पनि सेमिफाइनल पुगेको छ । सैनीकले जनसेवा सेकेन्डरी स्कुल कीर्तिपुरलाई ३–२ ले पराजित गर्यो । इशान तामाङ, सफल थापा र रोजित खत्रीले गोल गरे ।
ब्राइट होराइजनका सन्देश महतरा र सैनिकका सुदीप देवकोटा उत्कृष्ट खेलाडी चुनिए । दुवैलाई सशस्त्र प्रहरी नायव उपरीक्षक कविन्द्र महर्जनले ट्रफी प्रदान गरे ।
