भ्रष्टाचार आरोपमा बंगलादेशी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध

माघ ३०, २०८१

एजेन्सी

Bangladeshi cricketer Soheli Akhtar banned for five years on corruption charges

काठमाडौँ — बंगलादेशकी क्रिकेटर सोहेली अख्तरलाई आईसीसीले भ्रष्टाचार आरोपमा पाँच वर्ष प्रतिबन्ध लगाएकी छ । आईसीसीको भ्रष्टाचार विरोधी संहिताको उल्लंघन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको हो । 

अख्तरले सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी–२० विश्वकपमा एक बंगलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड (१६ हजार डलर) को प्रस्ताव गरेकी थिइन् । 

नाम नखुलाइएकी खेलाडीले अख्तरका बारेमा रिपोर्ट गरेकी थिइन् । उनी त्यो प्रतियोगितामा संलग्न थिइनन् । बंगलादेश क्रिकेट बोर्डका निर्देशक तथा महिला विभाग प्रमुख नजमुल आबेदिन फहिमले अख्तरको कार्य ‘दुर्भाग्यपूर्ण’ भएको बताए । 

‘हामी यस विषयमा शून्य सहनशीलताको नीति अपनाउँछौं र बंगलादेश क्रिकेटका सबै तहमा फिक्सिङ रोक्न कडा प्रयास गरिरहेका छौं’, फहिमले भने । 

३६ वर्षीया स्पिनर अख्तरले आफ्नो देशका लागि १३ टी–२० र दुई एकदिवसीय खेल खेलेकी छिन् । उनले सन् २०२२ मा बंगलादेशका लागि अन्तिम पटक खेलेकी थिइन् ।

आरोपहरूमध्ये अख्तरले आफ्नो आचरणको अनुसन्धानमा ढिलाइ वा बाधा पुर्‍याएको पनि स्वीकार गरेकी छिन् ।

एजेन्सी

Link copied successfully