वेस्टर्नलाई २३ औं रूपन्देही सुपर लिग

माघ ३०, २०८१

सन्जु पौडेल

23rd Rupandehi Super League to Western

तिलोत्तमा — वेस्टर्न क्रिकेट क्लबले रूपन्देही सुपर लिगको उपाधि जितेको छ । २३ औं संस्करणको मंगलबार सम्पन्न लिग फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेस्टर्नले तेस्रो पटक सुपर लिग जितेको हो ।

वेस्टर्नले १ लाख १ रुपैयाँसहित ट्रफी र उपविजेता लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ पुरस्कार हात पारे ।

टस जितेको वेस्टर्नले ४१ ओभरमध्ये ४०.४ ओभरमा सबै विकेट गुमाई २ सय २५ रन बनायो । नरेन साउदले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । देव खनालले ४६, सन्देश थापाले २२, रन्जित खड्काले २१, नीरकुमार गुप्ताले २० र भुवन पाण्डेले १४ रनको योगदान दिए । लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ५, भुवन कार्कीले २, दुर्गेश गुप्ता र सुप्रित घिमिरेले १–१ विकेट लिए ।

जवाफमा लुम्बिनी खुकुरीले ३८ ओभरभित्र समेटिँदा १ सय ८६ रनमात्र बनाउन सक्यो । निश्चल चौधरीले ४३, भुवन कार्कीले २८, प्रज्ज्वल थापाले २३, समीर अलीले २१, अमर मिश्राले १६ र अजयकुमार चौहानले १० रन बनाए । वेस्टर्नका नरेन साउदले ४, देव खनाल र सुझाव थापाले २–२ तथा सन्देश थापाले १ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका नरेन साउद म्यान अफ द फाइनल भए । उनले १ हजार २ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

रूपन्देही क्रिकेट संघले सिद्धार्थनगर नगरपालिकाको सहयोगमा आयोजना गरेको प्रतियोगितामा वेस्टर्नका देव खनाल म्यान अफ द सिरिज भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए । वेस्टर्नका अभिषेक गौतम बेस्ट बलर, न्यू होराइजनका निश्चल ज्ञवाली बेस्ट ब्याटर र तिलोत्तमा क्रिकेट क्लबका सन्दीप यादव उदीयमान खेलाडी घोषित भए । 

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully